सांसद आलेले पर्यटक बढाउन ५ अर्ब मागे


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डोटी–१ का सांसद प्रेमबहादुर आलेले यस वर्षको बजेटमा खुटिया दीपायल सायल हुँदै कैलाश मानसरोवरसम्म जाने सडकलाई ५ अर्ब बजेट निकासा गर्न अर्थमन्त्रीसँग माग गर्नुभएको छ ।

यो सडक बनेपछि नेपाल भित्रिने पर्यटकको संख्या बढ्ने भन्दै उहाँले सरकारलाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा प्रि–वजेट छलफलमा उहाँले अर्थमन्त्रीले संसदमा पेस गरेको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकलाई आफूले पूर्ण समर्थन गर्ने उल्लेख गर्दै वजेटका सिद्धान्त तथा प्राथमिकतामा समेटिएका विषयहरुले वालकदेखि बृद्धासम्मकाको भावनाको कदर गरेको बताउनुभयो ।

भौतिक पूर्वाधार विकास सडक, सिंचाई, खानेपानीजस्ता कुरालाई प्राथमिकतामा राखेर सरकारले विगतका भन्दा फरक र अग्रगामी किसिमको बजेट ल्याउने तयारी गरेको उहाँको दावी छ । पूर्ववर्ती सरकारले निर्वाचनमा पराजय भएपछि पछि आउने सरकारलाई अप्ठ्यारो पार्ने नियतले राज्यको ढुकुटी तहसनहस पारेकाले गत वर्षको बजेट बनाउन अर्थमन्त्रीलाई धेरै गाह्रो भएको उहाँको बुझाई छ ।

‘राज्यको ढुकुटी रित्याएर नेकपाको सरकारलाई अप्ठ्यारो पार्ने मनसाय राखेर कतिपय अनावश्यक काममा जथाभावी रकम वितरण गरेको पाइयो’ उहाँले भन्नुभयो ‘अर्थमन्त्री अनुभवी र दक्ष भएकाले उहाँले अर्थतन्त्रलाई मजबुत बनाएर राज्यको ढुकुटी पुनः बलियो बनाउनु भएको छ, यो सराहनीय कार्य हो ।’ संविधानसभाको दोस्रो निर्वाचनबाट पनि संविधानसभाको सभासद् बन्नुभएका उहाँले सरकार सबैको भावनाको सम्बोधन गर्न लागिपरेको बताउनुभयो ।

अर्थतन्त्र बलियो स्थितिमा भएको र विकास निर्माणका ठुला परियोजनाहरु सञ्चालन गर्नुपर्ने भएकाले ठूलै आकारको र जनमुखी वजेट ल्याउनु उपयुक्त हुने सांसद आलेको सुझाव छ । सरकारले सन् २०२० लाई भिजन २०–२० को रुपमा मनाउन लागेको उल्लेख गर्दै यसमा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राम्रो भएको बताउनुभयो ।

‘अर्थमन्त्रीज्यु उत्तर र दक्षिण जोड्ने सडकमार्ग खुटिया–दीपायल–सायल हुँदै तिब्बतको मानसरोवरसम्म जाने २ सय ९० किलोमिटर सडकमा ५ अर्ब रकम विनियोजन गर्नुहोस्, आगामी सन् २०२४ भित्र नेपालमा १० करोड पर्यटक आउँछन् ’ आलेले सम्भावनाहरु देखाउँदै भन्नुभयो ।

यो सडक निर्माण गर्न सकेमा समग्र सुदूरपश्चिमकै आर्थिक स्थितिमा उल्लेख्य सुधार हुने दावी गर्दै उहाँले बजेटमा यो विषय समेटिनेमा आफू विश्वस्त रहेको आलेको भनाई छ । ‘यो योजना भनेको मेरो एउटा लक्ष्य हो, सँगसँगै जनताको पनि आशाको केन्द्र हो, यसलाई अर्थमन्त्रीज्यूले पक्कै पनि गम्भीर रुपमा मनन गर्नु हुनेछ ’ उहाँले भन्नुभयो ।