सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक सुरजको निधन

0
Shares

लोकप्रिय सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक सुरज श्रेष्ठको निधन भएको छ। वजनदार आवाजका लागि लोकप्रिय रहेका श्रेष्ठको शुक्रबार राति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनी लामो समयदेखि मोर्टार न्युरोन डिजिज (एमएनडी) बाट पीडित थिए।

४५ वर्षीय उनी लामो समयसम्म इमेज एफएममा कार्यरत थिए। धरानका उनले पँर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गरेका थिए भने नयाँ परिवर्तन साप्ताहिकको सम्पादक हुँदै पत्रकारिता क्षेत्रलाई अगाडि बढाएका थिए।

२०५६ सालमा इमेज एफएमको स्टेसन म्यानेजर भएका उनी वजनदार र बुलन्द आवाजका धनी थिए। सयौं रेरियो जिंगल उनको आवाजमा तयार भएको थियो भने थुप्रै रेडियो कार्यक्रममार्फत लोकप्रियता कमाउँदै आएका थिए। गीतकार र कम्पोजरसमेत रहेका सुरजले सयौं म्युजिक भिडियोसमेत निर्देशन गरेका छन्।

केही वर्ष अगाडि एकाएक आवाजविहीन बन्न पुगेका उनको श्रीमती, एक छोरा र एक छोरी छन्। उनको शनिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।