स्थानीय तहमा कर्मचारी अभावः १४ वडामा एक सचिव, समस्यै समस्या


धनवीर दाहाल,रुकुम ।
रुकुम पुर्वको सबैभन्दा दुर्गम मानिएको पुथाउत्तरगंगा गाँउपालिकामा कर्मचारी अभाव हुँदा समस्या भएको छ । १४ वटा वडा रहेको सो गाँउपालिकामा कर्मचारी अभाव हुँदा विकास निर्माणको साथै दैनिक प्रशासनिक काममा समस्या भएको गाँउपालिकाले जनाएको छ । प्रमुख प्रशासयिक अधिकृत र लेखापालले मात्र काम गर्नुपरेको प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बुढाक्षेत्रीले बताउनुभयो ।

एक जना मात्र वडा सचिव भएको कारण वडाका काम गर्न अन्य क्षेत्रका कर्मचारी परिचालन गरिएको छ । स्वास्थ्य र पशुुका कर्मचारीबाट काम चलाइरहेको भएपनि समायोजन पछि त्यो काम पनि रोकिएको प्रमुख प्रशासकिय अधिकृत बुढाक्षेत्रीको भनाई छ ।

कर्मचारी अभावका कारण समयमा काम गर्न नसकिएको गाँउपालिकाले जनाएको छ । दुई जना स्थायी कर्मचारीले मात्र गाँउपालिकाको दर्ता चलानीदेखी अन्य काम गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रमुख प्रशासकिय अधिकृत बुढाक्षेत्रीले भन्नुभयो “हामी दिनरात काम गरिरहेका छौं । सबैभन्दा समस्या भनेको कर्मचारी अभाव हो ।” दुर्गम भनेपछि कर्मचारी आउन नमान्नुले पनि यस्तो समस्या भएको स्थानीयले बताएका छन् ।
गाँउपालिकामा आबश्यक कर्मचारी संख्या १७ जना रहेको भएपनि २ जना मात्र स्थायी कर्मचारी रहेका छन् । प्रमुख प्रशासकिय अधिकृत र लेखापाल मात्रले दैनिक कामहरु गरिरहेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत र लेखापालको पनि संघमा समायोजन भएकोले अन्तै जानसक्ने भएकोले गाँउपालिका कर्मचारी बिहिन हुन सक्ने संभावना रहेको प्रमुख प्रशासकिय अधिकृत बुढाक्षेत्रीको भनाई छ ।

शिक्षा क्षेत्रमा झनै ठुलो समस्या भएको गाँउपालिकाको दुखेसो छ । शिक्षा हेर्ने अधिकृत नहुँदा बजेट खर्च गर्न पनि कठिनाई भएको प्रमुख प्रशासकिय अधिकृत बुढाक्षेत्री बताउनुहुन्छ । उहाँले भन्नुभयो “शिक्षाक्षेत्रको बजेट खर्च हुन पनि कठिनाई छ । नयाँ योजना बनाउन पनि सकिएको छैन ।

यति मात्र होइन वडा सचिव नहुँदा वडास्तरबाट राजश्व समेत संकलन हुन सकेको छैन ।” दुर्गम गाँउपालिका र त्यसभित्रका वडा र टोल पनि अत्यन्त टाढा भएकोले सेवाग्राहीले दिनभर हिडेर पनि रित्तो हात घर फर्कने गरेका छन् ।

पञ्जीकरणको काम समेत हुन नसकेपछि सेवाग्राही मर्कामा परेका हुन् । केही समय पञ्जीकरणको काम स्वास्थ्यकर्मीलाई जिम्मा दिइएको भएपनि समायोजन भएर स्वास्थ्यकर्मी बाहिर गएपछि पन्जीकरणको काम ठप्प भएको प्रमुख प्रशासकिय अधिकृत बुढाक्षेत्रीले बताउनुभयो ।