समाचार प्रभाव:अस्पतालमा पानीको समस्या समाधान गर्न डीप बोरिङ निर्माणको तयारी


धनगढी, धनगढीस्थित सेती अञ्चल अस्पतालमा पानीको हाहाकार भएपछि त्यसको समाधानका लागि नयाँ योजना अगाडि सारिएको छ । प्रादेशिक अस्पतालको रुपमा रुपान्तरण भएको यस प्रदेशकै ठूलो अस्पतालमा पानी हाहाकार भएपछि सामाजिक विकास मन्त्रालयले बजेट विनियोजना गरेपछि पानी व्यवस्थापन गर्न लागिएको हो ।

मन्त्रालयले ‘नयाँ संरचना निर्माण’ शीर्षकमा अस्पताललाई ५० लाख रुपैयाँ विनियोजन गरेपछि अस्पताल परिसरमा डीप बोरिङ निर्माण गर्ने तयारी तयारी थालिएको अस्पतालले जनाएको छ । डीप बोरिङ निर्माण प्रक्रियाका लागि अस्पतालले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पत्र नै पठाइसकेको अस्पतालका लेखा अधिकृत मदन महराले बताउनुभयो ।

पानीको जोहो गर्न पूराना धाराको खोजी

सेती अञ्चल अस्पतालमा पानी अभाव भएपछि विकल्पका रुपमा पूराना धाराको खोजी गरिएको छ । अस्पताल परिसरमा छ वर्ष अघि डीप बोरिङ जडान गरिएपछि खासै वास्ता नगर्दा प्रयोगविहीन भएका खानेपानी संस्थानका धाराको खोजी गरिएको हो । त्यसक्रममा मंगलबार अस्पतालको पूरानो भवनको पश्चिमतिर रहेको खानेपानीको धारालाई ट्यांकीमा राखिएको छ । पानी आइरहेको तर टुटी बन्द गरिएको अवस्थामा रहका धाराको पानी ट्यांकीमा हालेपछि केही राहत भएको छ ।

साथै, अस्पताल परिसरमा रहेका दुईवटा नल्कामा पनि मंगलबार नै मोटर जडान गरेर ट्यांकीमा पानी हाल्न सुरु गरिएको छ । दुईवटा नल्का र खानेपानीको धाराको पानी ट्यांकीमा हालेपछि केही राहत भएको अस्पतालका लेखा अधिकृत महराले बताउनुभयो । उहाँले यसले नयाँ योजना पूरा नहुँदासम्म काम चलाउन सक्ने बताउनुभयो । केही मात्रामा पानीको जोहो भएपछि बुधबार अस्पतालको ट्यांकी बाहिर दुईवटा धारामा संगै पानी आउन थालेको छ । यसअघि एक महिनादेखि एक धारामा मात्रै केही मात्रामा पानी आउँथ्यो । अस्पताल भित्रका कुनैपनि धारामा पनि पाउन आएको थिएन । बुधबार भने अस्पतालका धारामा पानी आइरहेको थियो ।

उहाँले मंगलबार मात्रै डीप बोरिङ निर्माण प्रक्रियाका लागि डिभिजन कार्यालयलाई पत्र पठाएको जानकारी दिनुभयो । ‘अस्पतालमा भएको पानीको हाहाकारलाई मध्येनजर गर्दै नयाँ डीप बोरिङ निर्माणको तयारी पनि हामी सुरु गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘हिजो मात्रै खानेपानी तथा सरसफाई डिभिजनलाई पत्र पठाएका छौं, दुई÷तीन दिन भित्रमै बोरिङ निर्माणका लागि सूचना जारी गर्न सक्छौ ।’

उहाँले केही दिनअघि मात्रै मन्त्रालयले अस्पतालको संरचना निर्माण शीर्षकमा बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार नयाँ डीप बोरिङ निर्माण गर्न करिब ४० लाख रुपैयाँसम्म खर्च हुन सक्ने बताउनुभयो । ‘हामीले ४० लाख रुपैयाँसम्म खर्च हुन्छ कि भन्ने आँकल गरेका छौं,’ उहाँले भन्नुभयो, ‘यद्यपि, ईन्जिनियरले यहाँको ठाउँ हेरेर स्टिमेट बनिसकेपछि मात्रै लाग्ने वास्तविक खर्च निस्किन्छ ।’

हिउँदका महिना जसोतसो पानीको व्यवस्थापन भएको अस्पतालमा अहिले गर्मीसंगै अस्पताल परिसरमा भएको डीप बोरिङ पनि पूर्ण रुपमा सुकेपछि पानीका लागि नयाँ योजना सुरु गरिन लागिएको हो । नयाँ योजना निर्माण प्रक्रिया तीब्र रुपमा अगाडि बढे असारको सुरुवातबाट निर्माण कार्य सुरु गर्न सकिने अस्पतालले जनाएको छ । ‘दुई÷तीन दिनमै सूचना जारी गरेपछि पनि एक महिना कुर्नैपर्छ,’ अस्पतालका लेखा अधिकृत महराले भन्नुभयो, ‘त्यसपछ टेण्डर स्वीकृत भइसकेपछि मात्रै काम सुरु हुन्छ, त्यति गर्द असारसम्म लागिहाल्छ ।’

छ वर्ष अघि ६५ लाख रुपैयाँ निर्माण गरिएको डीप बोरिङ पाँच वर्ष नपुग्दै सुकेपछि अहिले अस्पतालमा पानी हाहाकार भएको हो । पानी हाहाकार भएपछि बिरामी, कुरुवा र त्यहाँ कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मी मारमा परेका छन् । पानी नै अभाव भएपछि अस्पतालको सेवासमेत प्रभावित भएको छ । पानी अभाव भएपछि अस्पतालका शौचालयहरुपनि दुर्गन्धीत बनेका छन् । नेपाल खानेपानी संस्थान धनगढी शाखाले दिएको पानीले विहान सरसफाई गर्न पनि पुग्दैन । राति टं्याकीमा भरिएको दुई÷तीन फिट पानी पनि विहानतिर अस्पतालको सफाई गर्न पुग्दैन ।