आर्थिक बर्ष सकिनै लाग्दा पनि योजनाको सम्झौता हुन सकेन


धनवीर दाहाल,रुकुम ।
समान्यतया कुनै पनि योजनाको काम आर्थिक बर्षको सुरुमै थालेर यति बेला सम्पन्न गर्नुपर्दछ । तर आर्थिक बर्ष सकिन करिव डेड महिना मात्र बाँकी हुँदा रुकुम पश्चिमका कतिपय योजनाका सम्झौता समेत हुन सकेका छैनन् । जसको कारण हो कर्मचारी अभाव ।

रुकुम पश्चिममा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कर्मचारी अभाव हुँदा चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयनमा समस्या देखिएको छ । रुकुम पश्चिम सहित सल्यान, जाजरकोट र डोल्पा जिल्ला समेत हेर्ने यस कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा चालु योजनाहरुको सम्झौता समेत हुन सकेको छैन ।

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त करिब २५ करोड बजेट र दुईसय बढि योजनाहरु रहेको यस कार्यालयमा प्राविधिक कर्मचारी अपुग हुँदा काम प्रभावित भएको हो । एउटा जिल्लामात्र हेर्ने साविकको कार्यालयभन्दा अहिले दरबन्दी समेत कम भएको र चार जिल्ला हेर्नुपर्ने थप जिम्मेवारी हुँदा समस्या भएको डिभिजन प्रमुख जगरनाथ दासले बताउनुभयो । ‘भूगोल, योजना र बजेट अनुसार दरबन्दी नै कम छ ।’

उहाँले भन्नुभयो ‘भएको दरबन्दी अनुसार पनि कर्मचारी पुर्ति नहुँदा समस्या झन बढेको छ ।’ चारजना इन्जिनियरको दरबन्दीमा दुईजना, चारजना नायब सुब्बा सरहको खानेपानी तथा सरसफाई टेक्निसियनमा दुईजना र खरिदार सरहको टेक्निसियनमा दुईजनाको पद रिक्त रहेको उहाँले जानकारी दिनुभयो ।

भएका प्राविधिक कर्मचारीहरु पनि अन्य जिल्ला पठाउनुपरेकोले उपभोक्ताहरु सम्झौता गर्न आउँदा सम्झौता कागज तयार गर्ने कर्मचारी समेत नभएको उहाँको भनाई छ । आर्थिक वर्ष सकिन करिब डेड महिना मात्र बाँकी रहँदा दुईसय योजनामा ३५ योजनाहरुको मात्र सम्झौता भएको कार्यालयले जनाएको छ । अन्य जिल्लामा रहेका सम्पर्क एकाईमा समेत प्रर्याप्त कर्मचारी पठाउन नसकेकोले उपभोक्ताको गुनासो आउने गरेको छ ।

कर्मचारी पठाएमा सम्बन्धित जिल्लामै सम्झौताको काम हुने भएपनि भुक्तानी लिन सबै जिल्लाबाट मुसिकोटमा रहेको डिभिजन कार्यालय रुकुम पश्चिम आउनुपर्ने बाध्यता रहेको उपभोक्ताको दुःखेसो रहेको छ । कार्यालय टाढा भएपछि पहिले सम्झौता गर्नै समस्या र काम गरेपछि भुक्तानी लिनेबेला समेत झन्झट व्यहोर्नु परेको सेवाग्राहीको भनाई छ ।