नेपाल प्रहरी विश्वमै उत्कृष्ट छः महानिरिक्षक खनाल


मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलको नव निर्मित भवनहरुको प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उद्घाटन गर्नु भएको छ । प्रहरीको नियमित बजेट र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बजेटबाट भवनहरुको निर्माण भएको हो ।

भवनहरुको समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले नेपाल प्रहरी संघीयताको मर्म अनुसार अगाडी बढेको बताउनु भयो । ‘साउथ एशियामा राम्रो संगठनका रुपमा नेपाल प्रहरी चिनिएको छ’–महानिरिक्षक खनालले भन्नुभयो–‘च्यालेञ्जका रुपमा भन्न सक्छौं, नेपाल प्रहरी सक्षम छ ।’ नेपाल प्रहरीमा शुद्धता शुरु भएको बताउँदै उहाँले गलत प्रवृत्तिको प्रहरीलाई छुट नदिने र असल भित्रका उत्कृष्टलाई पुरस्कृत गर्ने बताउनु भयो ।

‘प्रहरी संगठन पारदर्शि र नागरिकमैत्री भईसकेको छ’– महानिरिक्षक खनालले भन्नुभयो–‘प्रहरी अपराधि र गुण्डाहरुको शत्रु हो ।’

‘६ महिना भित्र नेपालका प्रमुख शहरहरु सिसिटिभीको निगरानीमा भई सक्नेछन’–खनालले भन्नुभयो–‘सिसिटिभीले अपराध अनुसन्धान मात्रै गर्दैन विकासमा सहयोग पु¥याउने छ ।’ समुदायमा प्रहरी साझेदारी कार्यक्रम नेपाल सरकारकै अगुवाईमा शुरु भएको बताउँदै महानिरिक्षक खनाललले समुदायसँग प्रहरीलाई जोड्ने र अपराध न्युनिकरण गर्ने एउटै माध्यम उक्त कार्यक्रम भएकाले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले जिल्लामा सबै क्षेत्रमा समन्वय गरिरहँदा प्रहरीका अभियानलाई अझै प्रभावकारी बनाई नागरिकको सुरक्षा गरिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले प्रहरीलाई डिजिटल प्रविधिमा जोड्नु पर्ने बताउनु भयो । प्रहरी हिरासत र कारागारलाई साच्चिकै सुधार गृहका रुपमा अगाडी बढाउनु पर्ने बताउँदै नगर प्रमुख अशोक ब्याञ्जुले कारागारका लागि ८ वटा टेलिभिजन नगरपालिकाको तर्फबाट हस्तान्तरण गर्ने घोषणा गर्नु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रदेश प्रहरी प्रमुख हेटौडाका प्रहरी नायव महानिरिक्षक दिपक थापा, नेपाल पत्रकार महासघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले प्रहरीलाई अझै प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिनुभयो ।

एसपी रविराज खड्काले जिल्लामा भएको शान्ति सुरक्षासँगै नेपाल प्रहरीले विकास निर्माणमा खेलेको भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । सोहि अवसरमा भवन निर्माणमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने प्रहरी अधिकृत डिएस्पी दिपक गिरी, प्रहरी निरिक्षक दिपक राय, प्रहरी जवानहरु, निर्माण ब्यवसायी उपेन्द्र घिसिङ्ग लगायतलाई पुरस्कृत गरिएको थियो ।

५ वटा भवनको उद्घाटन

जिल्ला प्रहरी कार्यालय काभ्रेमा निर्माण भएका हिरासत भवन एउटा, ब्यारेक भवन दुईवटा, सिनियर प्रहरी अधिकृत आवास भवन एउटा तथा मेश भवन एउटा गरी ५ वटा भवनको उद्घाटन गरिएको छ ।

६ करोड ८४ लाख २० हजार ८ सय ३४ रुपैया खर्च भएको छ । नेपाल प्रहरीलाई प्राप्त ह्ुने नियमित बजेटबाट २०७१ माघ २८ गतेबाट ६ वटा ब्यारेक हल भएको तीन तल्ले पक्कि भवनको निर्माण कार्य १ करोड ७८ लाख ६ हजार ४ सय ५४ रुपैयामा निर्माण सम्पन्न भएको थियो ।

२०७२ बैशाख १२ र १३ गते गएको भुकम्पबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा हिरासत भवन, ब्यारेक भवन, सिनियर प्रहरी अफिसर भवन तथा भान्सा घर पुर्ननिर्माण कार्यको प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाबाट ६ करोड ७२ लाख ५० हजार ९ सय २० रुपैया लागतमा निर्माण भएको छ ।