लगातार ८ घण्टा आगलागीः ७५ लाख बराबरको धनमाल स्वाहा !


काठमाडौं, करिब ८ घण्टाको अवधिमा देशका ७ स्थानमा आगालगी हुँदा करिब ७४ लाख ७६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार १३:१० बजेदेखि २१:३० सम्मको सो अवधिमा मोरङ, दाङ, अर्घाखाँचीका दुई स्थान, बाँके, कालीकोट र झपामा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।

आगलागीका घटनामा भएको उक्त क्षतिमध्ये मोरङ कटहरी गाउँपालिका-३ कटहरी बस्ने जिवनराम अग्रवालको नटराज चामल उद्योगमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब ३ लाख बराबरको धनमाल नष्ट भएको हो । यसैगरी दाङको घोराही उपमहानगरपालिका-१ स्थित सल्लीबोट सामुदायिक वनमा आगलागी हुँदा सो आगो बस्तीमा फैलिएर ४२ वर्षीय चुमान सिंह विष्ट समेत ४ जनाको ६ वटा घर र २ वटा गोठ जलेर करिब ३१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

साथै अर्घाखाँचीको छत्रदेव गाउँपालिका-८ टौवा बस्ने गोपाल पाण्डेको खरबारीबाट आगलागी हुँदा आगो फैलिएर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । अर्घाखाँचीकै शितगंगा नगरपालिका-८ फुर्कसल्ली सामुदायिक वनमा लागेको आगो फैलिएर २८ वर्षीय बामे बितालु समेत ३ जनाको घर र ३ वटा गोठ जलेर ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका-४ पसरामपुर बस्ने सुनबीर पुनको कच्ची घरमा आगलागी हुँदा नगद ३ लाख र अन्य सामान जलेर करिब ५ लाख २६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । कालिकोट पचाल झरना गाउँपालिका-६ स्थित तोलिभिट रिठाकोटी बस्ने नन्द प्रसाद सन्ज्यालको फुसको छानो भएको ३ तले घरमा आगलागी भई बस्तीमा फैलिदा नन्द प्रसाद सन्ज्याल समेत ४ जनाको ३ वटा घर र २ वटा गोठ जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

यसैगरी झापाको दमक नगरपालिका-४ धरधरे पुल नजिक श्याम दाहालको चमेना गृहमा ग्याँस लिक भई आगलागी हुँदा सोही घरमा रहेको होटल, किराना पसल तथा अन्य सामान समेत जलेर करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयबासी र दमकलको सहयोगमा सबै स्थानको आगो नियन्त्रणमा आएको   छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामुलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराएको छ ।