आफ्नै पार्टीका बहालवाला मन्त्रीविरुद्ध पूर्वमन्त्रीको कटाक्ष

0
Shares

ईश्वरराज ढकाल, काठमाडौँ
पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गर्नुभएको छ ।

यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको अधिकांशको आरोप भइरहेका बेला पूर्वमन्त्री पौडेलको पनि यस्तो स्टाटस आएको हो ।

बहालवाला मन्त्रीको क्रियाकलापप्रति आक्रोश पोख्दै उहाँले लेख्नुभएको स्टाटसमा भनिएको छ– ‘सार्वजनिक विद्यालयको रुपान्तरण, सबलीकरण, सशक्तीकरण र सुदृढीकरण नीति, विधि, योजना र कार्यक्रमबाट हुने हो कि सम्मेलन र भेलाले हुने हो ?’

उहाँले लेख्नुभएको छ– ‘आफैंले आफ्नै मन्त्रीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले ५ महिना ७ दिन लगाएर तयार गरेको सार्वजनिक विद्यालयको प्रवद्र्धनका सुझाव र सिफारिससहितको प्रतिवेदनसहित नीति, विधि र कानूनका मस्यौदा घर्रामा थन्क्याएर देशभरिबाट सार्वजनिक विद्यालयसँग सम्बद्ध केही मान्छे काठमाडौंमा बोलाएर भाषण सुनाएर पठाएपछि सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरण हुन्छ, तिनले गुणस्तरीय शिक्षा दिन थाल्दछन् भन्ने ठूलो भ्रममा सरकार परेको देखियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय त्यसमा फसेको हो कि फसाइएको हो ?’

यसअघि अधिकांश योजना निर्माण गर्दा मन्त्री पोखरेलले पूर्वशिक्षामन्त्रीको हैसियतले पौडेलसँग सल्लाह लिने गर्नुहुन्थ्यो । स्रोतको आरोपअनुसार पछिल्लो समयमा मन्त्री पोखरेलले एकलौटी निर्णयमार्फत् विभिन्न नयाँ योजना तय गर्दै आउनुभएको छ ।

पूर्वमन्त्री पौडेलले नेपाल समाचारपत्रसँग पनि भन्नुभयो– ‘उहाँको पहिलो प्राथमिकता त प्रतिवेदन सार्वजनिक गर्नु नै हो । सार्वजनिक विद्यालय सुधार गर्न आवश्यक पर्ने सबै बुँदा त्यसैमा छ । किन हतारमा नयाँ कार्यक्रम आयोजना गर्नुप¥यो ।’ उहाँले दराजमा थन्क्याएर राखिएको उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न समेत माग गर्नुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको उक्त प्रतिवेदन करिब १ करोड ४० लाख रुपियाँ खर्चेर तयार पारिएको थियो ।

उता मन्त्री पोखरेललाई प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई दबाव दिन नसकेको आरोप लाग्दै आएको छ । मन्त्री पोखरेलले भन्नुभयो–‘आयोगले बुझाएको प्रतिवेदन सरकारले ग्रहण गरिसकेको छ । प्रतिवेदन बुझाएपछि आयोगको सदस्यको समय सकिसकेको छ । कसैले चिन्ता लिन जरुरी छैन समयमा प्रतिवेदन सार्वजनिक हुन्छ ।’

मन्त्री पोखरेलले आफ्नो एक वर्षअघिको योजनामुताबिक सार्वजनिक विद्यालयको सुधारका लागि राष्ट्रिय सम्मेलन आयोजना गरेको बताउनुभयो । ‘मैले २२ बँुदे कार्ययोजना सार्वजनिक गर्दा नै यो विषयमा राष्ट्रिय सम्मेलन आयोजना गर्छु भनेको थिएँ, अहिले बल्ल समय जु¥यो र कार्यक्रम गरेको हुँ । यसबारे अहिले नै कुनै प्रतिक्रिया दिन्न, सार्वजनिक विद्यालय सुधारका लागि आफ्नो कार्यकालमा धेरै काम गरेको छु । यो कार्यक्रम सार्वजनिक विद्यालय सुधारका लागि कोशेढुंगा सावित हुनेछ ।’

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रद्वारा आयोजित दुईदिने सम्मेलनमा मन्त्रालयले आयोगका पूर्वसदस्य पौडेल, पूर्वमन्त्री गंगालाल तुलाधरलगायत आयोगका कुनै सदस्यलाई निम्ता गरेको छैन ।

‘प्रचारमुखी मन्त्रीले सचिवालयको उक्साहटमा सार्वजनिक विद्यालयको सुधार नाम दिएर कार्यक्रम आयोजना गर्नुभएको हो’ –स्रोतको कटाक्ष छ ।
‘सम्मेलनमा आयोगका केही पनि सदस्यलाई नबोलाउने निर्णय भएको थियो’ –मन्त्रालय स्रोतले भन्यो । सम्मेलनमा सातवटै प्रदेशका २३ विद्यालय ६ स्थानीय तह, केही कलाकार र केही सरोकारवालालाई बोलाइएको छ ।

मन्त्रीले आफू मात्रै पपुलर हुन कार्यक्रम आयोजना गरेको आयोगका एक पूर्वसदस्यको आरोप छ । तर मन्त्री पोखरेलले अब आफूले संघीय शिक्षा ऐन ल्याउने बताउँदै भन्नुभयो– ‘मेरो कार्यकालयमा बालविकासदेखि उच्च शिक्षासम्मको सुधारमा विशेष योजना ल्याउनेछु ।’