राष्ट्रपति भण्डारी आज चीनको राजकीय भ्रमणमा जाँदै

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि बुधबार उत्तरी छिमेकी चीन प्रस्थान गर्दैछिन् ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

गणतन्त्र स्थापनापछि पहिलो पटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्न लागेको हो । अघिल्ला राष्ट्रपति डा.रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि बेइजिङको आतिथ्य पाएका थिएनन् । बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ ।

अर्को छिमेकी भारतले नेपालमा गणतन्त्र आए लगत्तै चुनिएका राष्ट्रपतिलाई नयाँदिल्लीमा राजकीय सम्मान गरेको थियो । तर चीनले त्यही सम्मानका लागि झण्डै १० वर्ष लगाएको हो । चीनको उक्त स्वागतले नेपाल–चीन सम्बन्ध उचाइमा पुग्ने विश्वास सरकारले लिएको छ ।

राष्ट्रपति भण्डारी बुधबार बिहान नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट चीनतर्फ जानेछिन् । उनी एक दिन सान्सी प्रान्तमा बस्ने कार्यक्रम तय भएको छ । त्यो राष्ट्रपति सी चिनफिङको शहर हो । भण्डारी भोलिपल्ट बेइजिङ पुग्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटन सत्रमा विशेष सम्बोधन गर्ने कार्यसूची छ । सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिने जनाइएको छ ।
नेपालले बीआरआई परियोजनाअन्तर्गत आफ्नो योजना पहिले नै बुझाइसकेको छ । तर अन्तिम रूप पाएको छैन ।

बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।