रुमालमा ७ किलो सुन

0
Shares

सरस्वती न्यौपाने, रसुवा
उत्तरी नाका रसुवागढीबाट लुकाईछिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन मंगलवार टिमुरेमा बरामद भएको छ ।

केरूङबाट सामान लिई आएको ना६ख ९०६८ नम्बरको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध ७ केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजस्व गस्तीका गुल्मपति प्रमुख जीवन केसीले जानकारी दिनुभयो।

सामान परीक्षण गर्ने क्रममा विषेश सुराकीको आधारबाट कन्टेनर डिब्बा चेकजाँच गर्दा चालक सिटको माथिल्लो भागमा साधारण तवरले रूमालमा बेरी राखेको अवस्थामा ७ केजी सुन भेटिएको थियो । स्याउको मालवाहक डिब्बा चलाउने चालक नौकुण्ड गापा–१ थाङदोर निवासी शेर ग्याल्पो घले रहेका र सुनसहित उनलाई पक्राउ गरिएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिनुभयो।

अवैध सुनसहित पक्राउ परेका घलेलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धुन्चे चलान गरिएको छ । सुनको मूल्य भने निर्धारण गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

ठूलो परिमाण रसुवागढी नाकाबाट सुन भित्रिने गरेको बेलाबेलामा हल्ला चल्ने गरे तापनि प्रहरीले सुराकीको सूचनाबेगर पक्रन भने सकेको छैन । तर सुन बरामतपश्चात पत्रकार सम्मेलनमा जानकारी गराउँदा सुराकीको आधारबाटै बरामद गरेको बताउँदै आएको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार रसुवागढी नाकामा हालसम्म करिब ५० केजी सुन बरामद भएको बताइएको छ ।