सम्पदामार्ग गुरुयोजनाको मोबाइल एप्स सार्वजनिक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
महानगरका ४ वटा बिश्व सम्पदामध्ये २२ सय मिटरदुरीमा रहेका स्वयम्भू र हनुमानढोका दरबार क्षेत्र जोड्ने सम्पदा मार्गको गुरुयोजना र यस सम्बन्धि बिवरण भएको मोवाइल एप्लिकेसन सार्वजनिक गरिएको छ । बिश्व सम्पदा दिवस २०१९ को सन्दर्भ पारेर महानगरको सम्पदा तथा पर्यटन समितिले आज बिहीबार स्वयम्भुबाट निकालेको सम्पदा ¥याली हनुमानढोका पुगेपछि आयोजना गरिएको समारोहमा गुरुयोजना र मोवाइल एप सार्वजनिक गरिएको हो ।

स्वयम्भूको भुइँखेलबाट निकालिएको ¥याली बिष्णुमती नदी पार गर्दै, नरदेवी, ढोकाटोल हुँदै मरुगणेशबाट हनुमानढोका पुगेको थियो ।

गुरुयोजना सार्वजनिक गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जीवन्त सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेपछि स्थानीयको जीविकोपार्जनमा सुधार हुने अपेक्षा गर्नुभयो । सम्पदा संरक्षण र व्यवस्थापन कार्य स्थानीयको दैनिकीसँग जोड्ने महानगरपालिकाको चाहना रहेको बताउनुभयो । उहाले भन्नुभयो– अनुपम कला कृतिको अवलोकनका लागि आन्तरिक पर्यटकको सम्भावना पनि प्रवल छ ।

संसद सदस्य जीवनराम श्रेष्ठले २ किलोमिटर दुरीमा २ वटा बिश्व सम्पदा सूचीमा सूचीकृत भएका सम्पदा क्षेत्र हुनु तथा यसबीचमा २० भन्दा बढी ऐतिहासिक एवं पुरातात्विक महत्वका कलाकृति हुनुलाई बिश्वको आठौं आश्चर्यका रुपमा लिइनुपर्ने बताउनुभयो । यस क्षेत्रका स्थानीयहरु परम्परादेखि तिथि, मिति र साइतमा तन्त्र, मन्त्र, साधना तथा सामाजिक जीवनमा आधारित कला प्रदर्शन गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षण तथा पर्यटन प्रवर्धनका लागि योजनाबद्ध कार्यक्रम अघि सारेको छ । कार्यक्रममा बोल्ने क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले सम्पदा मार्गजस्तै पर्यटन बर्ष २०२० लाई लक्षित गरेर अरु पनि कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभयो । सम्पदा संरक्षण र यिनको प्रवर्धन गरेर काठमाडौंको गौरव बढाउने साझा लक्ष्यमा सबैले काम गरौं, साझेदारसँग महर्जनको आग्रह थियो । त्यस क्रममा नगर कार्यपालिका सदस्य एवं समितिकी सदस्य रमिताकमल स्थापितले सबै मिलेर एउटै कार्यक्रम अघि सारौं र त्यसलाई सफल बनाउन लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहरी योजना आयोगकी सहायक बिज्ञ रजिता शाक्य उदासले गुरुयोजनामा समेटिएका कार्यक्रमको खाकाका बिषयमा प्रस्तुती गर्नुभएको थियो ।
उहाँका अनुसार सम्पदा मार्गमा भएका सांस्कृतिक ऐतिहासिक सामान तथा बस्तुको महत्व उजागर गर्ने, पर्यटकलाई बस्तु, ठाउँ तथा सामानका बिषयमा जानकारी दिने व्यवस्था गर्ने, मौलिक कला संस्कार तथा संस्कृतिको प्रवर्धन गर्ने, हस्तकला, खानपानजस्ता स्थानीय सम्भावनालाई आयमा रुपान्तरण गर्ने काम गुरुयोजनामा समेटिएका छन् । सम्पदा पदयात्राको कार्यान्वयनसँगै स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन, स्थानीय जनताको आर्थिक विकासमा टेवा, आन्तरिक एवं बाह्य पर्यटनको विकास र सम्पदाको मूल्य मान्यता बारे जनमानसमा चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ । मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, पुस्तान्तरण तथा सम्बद्र्धनका लागि अघि सारिएको कार्यक्रममा महानगरका वडा १५, १८, १९, २०, २३ र २४ समेटिएका छन् । यी वडा भएर जोडिने बिश्व सम्पदा क्षेत्रको २.२ किलोमिटर दुरीभित्र करीब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिने छ ।

कार्यक्रमपछि सहभागीहरुले सिंहसत्तलमा आयोजना गरिएको चित्रकला प्रदर्शनी अवलोकन गरेका थिए । सम्पदा ¥याली, मूल समारोह तथा चित्रकला प्रदर्शनीमा नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्य, प्रदेश सभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजबैद्य, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यहरुसँगै स्थानीय सम्पदा प्रेमी र साझेदारहरुको सहभागिता थियो ।