पत्रकारलाई साइबर क्राइम लगाएर फसाइएको भन्दै महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

0
Shares

काठमाडौं । प्रहरीले पोखरास्थित ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई विद्युतीय कारोबार ऐन लगाइ पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

पत्रकारलाई विद्युतीय कारोबार ऐन अन्तर्गत पटकपटक पक्राउ गरी प्रेस स्वतन्त्रतामा अवरोध खडा गरेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको हो ।

महासंघले भोलि ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरेको छ ।

थप विरोधका कार्यक्रम भोलि तय गर्ने महासंघले बताएको छ । यसका लागि भोलि नै महासंघ केन्द्रीय समिति बैठक बोलाइएको छ ।

ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दैे आन्दोलन घोषणा गरेको हो । महासंघले सबै पत्रकारलाई ऐक्यवद्धता जनाउन समेत आग्रह गरेको छ ।