नेत्रविक्रम चन्द नेतृत्वसँग वार्ता प्रक्रिया भइरहेको छ: गृहमन्त्री

0
Shares

हेटौँडा । गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको दावी गरेका छन् ।

गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग उनले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको बताए ।

देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको बताउँदै गृहमन्त्री थापाले त्यस कार्यमा सरकार सफल पनि हँुदै गएको र शान्ति सुरक्षामा सुधार आएको बताए ।
हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समुहसँग वार्ता प्रक्रिया भइरहेको बताउँदै हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गरे । पत्रकारको जिज्ञासामा नयाँ प्रहरी ऐन नआएको अवस्थामा पुरानो ऐनको आधारमा संघ, प्रदेश र स्थानीय तहले शान्ति सुरक्षाको कार्य गरिरहेको बताए ।

गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पधाधिकारी लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ ।
दुईदिने गोष्ठीमा शान्ति सुरक्षाका लागि जिल्ला र प्रदेशबाट समाधान गर्न सकिने समस्या र चुनौतीका लागि एकीकृत अवधारणा बनाउने उद्देश्य रहेको छ ।