जापानी दुतावास भवन निर्माण अनुमति रद्द

0
Shares

सोल (एजेन्सी)
दक्षिण कोरियाको सरकारले राजधानी सोलमा नयाँ जापानी दुतावासको भवन निर्माण अनुमति रद्द गरेको अधिकारीहरुले जानकारी दिएका छन् । यी दुई देशबीच ऐतिहासिक घटनालाई लिएर सम्बन्ध तनावपुर्ण रहेको छ ।

कोरियाली प्रायद्विपमा सन् १९१० देखि १९४५ सम्म जापानको औपनिवेसिक शासन रहेको थियो । उक्त अवधीमा जापानले कारियाली जनतालाई जबरजस्ती श्रम तथा यौन दासीका लागि प्रयोग गरेका थिए । सन् १९९२ देखि प्रदर्शनकारीहरुले युद्धकालिन यौन दासताका लागि टोक्योले माफी माग्नु पर्ने माग गर्दै नयाँ दुतावास निर्माणधिन स्थलमा साप्ताहिक प्रदर्शन गर्दै आइरहेका छन् ।
यसक्रममा बुधबार १ हजार घ सय ८२ औं प्रदर्शन भयो ।

दुतावास स्थल नजिकै सडकमा एक कोरियाली महिलाको प्रतिमा स्थापित गरिएको छ । उक्त प्रतिमा द्वितीय विश्व युद्धका क्रममा जापानी सेनाले कोरियाली महिलालाई यौन दासीका रुपमा काम गर्न कसरी बाध्य पारेका थिए भन्ने सन्देश दिन राखिएको हो ।

सोल स्थित जापानी दुतावासको पुरानो भवन केही बर्ष अगाडी भत्काइएको थियो । सहरका अधिकारीहरुले सन् २०१५ मा ६ तल्लाको नयाँ भवन बनाउन अनुमति दिएका थिए । सोही बर्ष सोल र टोक्योले युद्धकालिन यौन दासताको मुद्दा समाधान गर्ने एक विवादास्पद सम्झौतामा हस्ताक्षर गरेका थिए । जापानले उक्त महिलाको प्रतिमा २०१५ को द्विपक्षिय सम्झौताको उलंघन भएको तर्क दिइरहेको छ ।

सोलमा जोंगनो बोर्ड अफिसका एक अधिकारीले भने– फेब्रुअरीमा हाम्रो जापानी अधिकारीहरुसँग एक बैठक भएको थियो । उनीहरुले आफनो देशको विद्यमान परिस्थितिका कारण निर्माण कार्य शुरु गर्न नसकेको बताए ।