घर घरमा सिँचाई पोखरी

0
Shares

हिक्मत नेपाली, दैलेख
दैलेखको गुराँस गाउँपालिका –६ पिलाडीका घर घरमा सिँचाई पोखरी निर्माण गरिएको छ । ‘एक कृषक, एक सिँचाई पोखरी’ निर्माण गर्ने योजना अनुसार पिलाडीका घर घरमा सिँचाई पोखरी निर्माण गरिएको हो । पोखरी निर्माण गरिएपछि स्थानीय कृषकहरुलाई तरकारी खेतीमा सहज भएको छ । एक सय १० वटा सिँचाई पोखरी निर्माण गर्ने लक्ष अनुसार गत आर्थीक बर्षमा पिलाडीका ४० घरधुरीमा सिँचाई पोखरी निर्माण गरिएको वडाध्यक्ष हिम बहादुर ओलीले बताउनुभयो । उहाँका अनुसार चालु आर्थीक बर्षमा ७० वटा सिँचाई पोखरी निर्माण गरिनेछ । एउटा सिँचाई पोखरीमा २४ हजार लिटर पानी अट्ने उहाँको भनाई छ ।

प्राप्त पानीको स्रोत नभएको स्थानमा पानी जम्मा गरेर सिँचाई गर्ने लक्ष अनुसार पोखरी निर्माण गरिएको वडाध्यक्ष ओलीको भनाई छ । ‘पोखरी निर्माणका लागी कृषकलाई वडाबाट प्लास्टिक उपलब्ध गराएका छौ,’ वडाध्यक्ष ओलीले भन्नुभयो ‘पोखरी निर्माणको अन्य सबै काम कृषकहरुले नै श्रमदान गर्नुहुन्छ ।’ उहाँका अनुसार सिँचाई पोखरी निर्माण गर्दा प्राविधिक स्टमेटका आधारमा ८ लाख बराबरको जनश्रमदान भएको छ ।

यहाँ खेती योग्य जमिन धेरै भएको र कृषि उत्पादनबाट आत्मनिर्भर बन्ने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखिएको वडाध्यक्ष ओलीले बताउनुभयो । यस अघि यहाँका कृषकहरुलाई सिँचाई अभावमा तरकारी खेतीमा समस्या थियो, उहाँले भन्नुभयो ‘पोखरी मार्फत सिँचाइ सुविधा पुगेपछि तरकारी उत्पादन मार्फत किसानलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सजिलो भएको छ ।’ उक्त वडाबाट थालिएको सिँचाई पोखरी निर्माणको योजना गाउँपालिकाको सबै वडामा लागु गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

‘सिँचाई नहुँदा खेतीका लागि आकासे पानीको भर पर्नुपथ्र्याे, धाराको पानी सिँचाईका लागि प्रयोग गर्नुपर्ने बाध्यता थियो, यहाँका कृषक गगन बहादुर खत्रीले भन्नुभयो ‘सिँचाई सुविधा आएपछि तरकारी खेतीमा उत्साह जागेको छ ।’ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गाउँपालिकालाई कृषि हवको रुपमा विकास गरिने बताउनुभयो । ‘कृषकका घरमा प्लास्टिकको पोखरी बनाइएको छ, उहाँले भन्नुभयो ‘थप पोखरीलाई पक्की बनाउने योजना अघि सारेका छौ ।’ गुराँस तरकारी उत्पादनका लागि जिल्लाको नमुना गाउँपालिका हो । यहाँका कृषकहरुले तरकारी उत्पादनबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् ।