परोपकारी बृद्धा डिलनलाई अर्बपतिद्वारा घर पुरस्कार

0
Shares

हरारे (एजेन्सी)
हालै मात्र दक्षिण अफ्रिकी देश जिम्बावे र मोजाम्बिमा सामुद्रिक चक्रवात इडाईले सयौंको ज्यान लियो । कयौं घरबार बिहिन बने । उक्त विपत्तीबाट पिडितका लागि विश्व भरीका सरकार र गैर सरकारी संगठनले सहयोग गरे ।
यसै क्रममा जिम्बावेमा एक ७१ बर्षिय बृद्धा प्लेकेडेस डिलन टाउकोमा बोराको भारी राखी १० किलोमिटर पैदल हिँडेर चक्रवात पिडितका लागि मद्दत गर्न पुगिन् । डिलनको बोरामा लुगा र खाने पिउने सामान थियो । उनको टाउकोमा बोराको भारी बोकेको तस्विर एकाएक चर्चाको विषय बन्न पुग्यो । उनको यो उपकारी मनबाट प्रभावित भएका जिम्बावेका एक अर्बपति स्ट्रइव मसियिवाले, डिलनले देशमा जहाँ जहाँ चाह्यो, त्यहाँ उनका लागि घर बनाइदिने घोषणा गरेका छन् ।

मान्छेप्रति दया देखाउने जति पनि घटना मैले देखेको छु, यो ती मध्य सबैभन्दा उच्चकोटीको हो, मसियिवाले प्रतिक्रियामा भनेका छन् । टाउकोमा बोरा राखी डिलन हरारेको प्रेसबाइटेरियन चर्चमा पुगेकी थिइन् । उक्त स्थानमा स्वयंसेवकहरु पिडितहरुको मद्दतका लागि सामान संकलन गरिरहेका थिए ।
चर्चले नै टाउकोमा बोराको भारी बोकेकी डिलनको फोटो जारी गरेको थियो । १० किलोमिटरको दुरीबाट उनी पैदल नै आएकी थिइन् किनभने उसँग गाडीमा आउने पैसा थिएन ।

डिलनको सहयोग गर्ने यो भावनालाई जिम्बावेमा अत्यन्तै सराहना भइरहेकोछ । मसियिवा एक टेलिकमका कार्यकारिणी हुन् । उनले आफनो फेसबुक पोस्टमा डिलनलाई प्रत्यक महिना १ हजार डलर दिने घोषणा गरे ।

मसियिवाले भने ( डिलनको तस्विर जब बाहिर आयो, तब मैले उनको बारेमा पत्ता लगाएँ । मैले उनलाई यदि सम्भव भएमा मसँग भेट्न भने । सबैभन्दा पहिला त म उनीहरुका लागि प्रार्थना गर्न चाहन्छु ,जो यस विपत्तीबाट पिडित भएका छन् । उ देशको जहाँ चाहन्छ म उनलाई घर बनाइदिन्छु । घरमा सौर्य उर्जा र पानीको पर्याप्त ब्यवस्था हुने छ ।

डिलनले भनेकी छिन्( मैले रेडियोमा आँधीबाट पिडितहरुका लागि सहयोग गर्न गरेको अपिल सुने । मैले केही दिन अगाडी मात्रै सामान किनेको थिएँ । त्यसलाई बोरामा बाधँे र अर्को दिन त्यसलाई पुर्याउन निस्केँ ।

मसियिवाको कम्पनीले पनि ब्यापक स्तरमा सहयोग पुर्यारहेको छ । उनको कम्पनी स्थानिय र अन्तराष्ट्र्यि स्तरमा पिडितहरुको मद्दत गर्ने संस्थाका रुपमा चिनिन्छ । जो मान्छे समस्यामा सहयोगका लागि अगाडी आउँछ , उनीहरुको आफुले सम्मान गर्ने मसियिवाले बताए । यसमा कसले कति सहयोग गरे भन्ने कुराले कुनै अर्थ नराख्ने उनले बताए । अर्काको सहयोग गरे भने मात्र इश्वरले उसलाई मद्दत गर्ने उनले बताए ।

इडाई सामुद्रिक सक्रवातका कारण जिम्बावे, मलावी र मोजाम्बिकमा ब्यापक विध्वंश मच्चिएको थियो । उक्त विपत्तीमा ७ सय ५० भन्दा धेरैको मृत्यु भएको छ भने बीरा सहर मात्र ९० प्रतिशत ध्वष्ट भएको अनुमान गरिएको छ ।