भीआईपी भीडले राहत वितरण प्रभावित

0
Shares

गोकुल घोरसाइने, बारा
हुरीबतासले वितण्डा मच्याएको बाराको फेटा गाउंपालिका भलुहिभर्वोलिया, पुरैनिया र बरैयामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको समेत भीडले राहत वितरण र भग्नावशेष पन्छाउने कार्य प्रभावित बनेको छ । हुरीबतासले अत्यधिक क्षति पु¥याएको यी गाउँमा उच्चपदस्थ सरकारी अधिकारीसहित बाहिरबाट दिनहँु हजारौंको संख्मामा सर्वसाधारणको ओइरो लाग्ने क्रम बढेको छ ।

‘बिहानदेखि नै गाउँको सडकमा भीआईपी चढेर आएका गाडीको जाम लागेको स्थानीय जफिर आलमले बताउनुभयो । उहांले भन्नुभयो– ‘गाडीको जाम र सर्वसाधाणको भीडभाडले अस्पतालमा घाइते आफन्तलाई भेटघाट गर्न घर फर्किन समेत समस्या भएको छ ।’ ‘मन्त्री र नेताहरु आएर हेर्छन्, सोधेको कुरा बताउनै प¥यो’, उहांले भन्नुभयो– ‘भीडभाडले कामको मेलोमेसो नै पाउन सकिएको छैन ।’

प्रभावित क्षेत्रमा मंगलबार सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राजपका नेता राजेन्द्र महतो, जनमत पार्टीका सीके राउत, उद्योग तथा वाणिज्य मन्त्री मातृका यादव, प्रदेश नम्बर २ का पूर्वाधारमन्त्री जितेन्द्र सोनललगायत नेता कार्यर्ताले स्थलगत भ्रमण गरेका छन् ।

यसअघि सोमबार दिउँसो प्रम केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री मोहमद इस्तियका राई, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, गृह सचिव प्रेमकुमार राई, स्वास्थ सचिव चन्द्र घिमिरेलगायत ३ वटै सुरक्षा निकायका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरुले हवाई निरीक्षण गरेका थिए ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत पनि आफ्नो मन्त्री मण्डलका सबै सदस्यसहित गाडीको लस्कर लिएर सोमबार नै प्रभावित क्षेत्रमा पुगेका थिए । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पनि सोमबार नै फेटाको भ्रमण गरेका थिए ।

त्यसै गरी जिल्लाका विभिन्न पालिका र छिमेकी जिल्ला पर्सा, रौतहटबाट पनि जिप, कार र मोटरसाइकलबाट दिनहँु ठूलो संख्यामा सर्वसाधारण प्रभावित क्षेत्रमा पुग्ने क्रम जारी छ । प्रभावित क्षेत्रको अवस्थाबारे बुझ्न सर्वसाधारण फेटा पुग्ने गरेका हुन ।

‘उच्च पदस्थ व्यक्तिहरु आउनु त खुसी कै कुरा हो’, अर्का स्थानीय इजहर मियाले भन्नुभयो– ‘अनावश्यक रुपमा आउने मान्छेलाई नियन्त्रण गर्न आवश्यक छ ।’ उहांले सहयोग गर्ने भन्दा हेर्न आउनेको भीड ठूलो भएपछि राहत र भग्नावशेष पन्छाउने काममा अवरोध उत्पन्न भएको छ ।

बाराका प्र्रहरी उपरीक्षक सानुराम भट्टराई सर्वसाधारण र भीआईपीको अवागमन अपेक्षा भन्दा बढी रहेकोे र प्रकोप व्यवस्थापन पनि केही हदसम्म प्र्रभावित बनेको बताउनुहुन्छ ।

उहाँले नेपाल प्रहरीका २ सय ५० सहित करिब ६ सय सुरक्षाकर्मी अहोरात्र खटेर राहत वितरण तथा भग्नावशेष पन्छाउने कार्यमा जुटेको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी निकाय र विभिन्न संघसंस्था तथा व्यक्तिगत रुपमा प्राप्त राहत सामग्री स्थानीय निकायका जनप्र्रतिनिधिको रोहबरमा सुरक्षाकर्मीमार्फत वितरण भइरहेको छ ।

उपचाकारका क्रममा बालकको मृत्यु
विनाशकारी आँधीहुरीले घाइते भई उपचार गराइरहेका एक बालकको मंगलबार मृत्यु भएको छ । यो सँगै आँधीहुरीले ज्यान गुमाउनेको संख्या बारा जिल्लामा २८ पुगेको छ । यसअघि बारामा २७ र पर्सामा १ जना गरी २८ जनाको मृत्यु भएको थियो ।

वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका फेटा गाउँपालिका–६ का फिरोज अन्सारीका ५ वर्षीय छोरा फैयाज आलमको मंगलबार मृत्यु भएको हो । नेसनल मेडिकल कलेजको आईसीयू कक्षमा गत आइतबार रातिदेखि उपचार गराइरहेका आलमको मंगलबार दिउँसो मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ ।

उपरीक्षक भट्टराईका अनुसार बाराका करिब चार सय जना घाइतेको कलैया र वीरगन्जस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको र गम्भीर अवस्थाका ७ जना घाइतेलाई सोमबार उपचारका लागि काठमाडौँ पठाइएको छ ।

गापा अध्यक्षको संयोजकत्वमा राहत समिति
फेटा गाउँ कार्यपालिका बैठकले पीडितलाई राहत वितरण गर्न गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसादको संयोजकत्वमा १५ सदस्यीय राहत वितरण मूल समिति गठन गरेको छ । मृतक परिवारलाई तत्कालका लागि ३० हजार रुपियाँको दरले राहत दिने निर्णय समेत गरेको छ ।

त्यसै गरी बैठकले राहत वितरणमा एकरुपता कायम गर्न तथा पीडितको बास व्यवस्थापन, सामग्री वितरण, खाजा व्यवस्था, राहत सामग्री खरिद गर्न समेत विभिन्न उपसमिति गठन गरेको छ । गाउँपालिकाले राहत तथा पुनःस्थापना कोषका लागि बैंक खाता खोल्ने र गाउँपालिकाको विपद् व्यवस्थापन कोषवाट तत्काल राहत उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको गापा अध्यक्ष प्र्रसादले जानकारी दिनुभयो ।