नेकपाको स्थापना दिवस भङगेरीमा मनाइने

0
Shares

काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टीले पार्टी स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको छ । नेकपा तीन नम्बर प्रदेश कमिटीको पहिलो बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मभूमि रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको हो ।

तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भङगेरीमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले पार्टी स्थापना दिवस वैशाख ९ गते प्रदेश कमिटीका सबै सदस्यहरुलाई अनिवार्य रुपमा सहभागी हुन बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

नेकपा तीन नम्बर प्रदेश कमिटी २२१ जना सदस्य नै भङगेरीमा सहभागी हुने छन भने प्रदेश कमिटीले तीन नम्बर प्रदेशमा नै नेकपाको ११० जना केन्द्रीय सदस्यहरुलाई पनि कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । पार्टी एकीकरण भएपछि प्रदेश कमिटीले पुष्पलालको जन्मभूमिमा पार्टी स्थापना दिवस मनाउन लागेको हो । कम्युनिष्ट पार्टीले पुष्पलालको जन्मभूमिमा पहिलो पटक ठूलो कार्यक्रम आयोजना गर्न लागेको हो ।

सरकारले पुष्पलाल स्मृति पार्क निर्माणको लागि ५२ रोपनी जग्गा अधिकरणको काम अगाडि बढाएको छ । नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका पुष्पलाल स्मृति प्रतिष्ठानका संयोजक देवशकंर पौडेलले पार्क निर्माणको काम अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार पार्क निर्माणसँगै पुष्पलालको शालिक समेत निर्माण गरिने भएको छ ।