स्थगित एसईई चैत २२ देखि

0
Shares

भक्तपुर, (नेस)। प्रदेश नं २ कोे स्थगित एसईईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको परीक्षाको तालिका सोमबार सार्वजनिक भएको छ ।

सोमबारै परीक्षा बोर्डकोे बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिने भएको हो ।

तालिकाअनुसार प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताउनुभयो । अन्य विषयमध्ये चैत २४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय रहेको छ ।

त्यसै गरी चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ ।