हावाहुरीपीडितलाई प्रदेश–३ सरकारको साथ


हेटौंडा,(नेस)।
छिमेकी प्रदेश–२ को बारामा हावाहुरीका कारण मानवीय क्षति हुनुका साथै करिब चार सय जना घाइते भएको खबर पाएपछि प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली घटनास्थलमा पुगेको छ ।

सोमबार विहान पौडेलको नेतृत्वमा टोली बारा पुगेको हो । प्रदेशको छिमेकी प्रदेशमा पीडा पर्दा मल्हम लगाउन मुख्यमन्त्री पौडेलसहित दुई मन्त्री बारा पुग्नुभएको हो । उक्त स्थानमा मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल र सामाजिक विकास मन्त्री युवराज दुलाल पनि पुग्नुभएको छ ।

पीडामा परेकाको उपचार र मृतक परिवारलाई सहयोग गर्न कसर बाँकी नराखिने मुख्यमन्त्री पौडेलले बताउनुभयो । हावाहुरीका कारण सबभन्दा बढी क्षति सहेको बाराको फेटा गाउँपालिका–१, पुरनियामा मुख्यमन्त्री पौडेल पुग्नुभएको छ ।

पुरैनियामा ९ जनाको मृत्यु भएको छ । घरहरुमा पनि व्यापक क्षति छ । मुख्यमन्त्रीले मृतकका परिवारलाई भेट्नुका साथै घाइतेसँग पनि भेट गर्नुभयो । छिमेकी प्रदेशमा समस्या पर्दाको पीडा सम्बोधन गर्न प्रदेश–३ सरकार तयार रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
मन्त्री दुलाल नौं जना स्वास्थ्यकर्मीको टोली लिएर बारामा हुनुहुन्छ । मन्त्री दुलालले बाराको कलैया अस्पतालमा प्रदेशका स्वास्थ्यकर्मीलाई लिएर जानुभएको हो । हेटौंडाबाट गएका स्वास्थ्यकर्मीले त्यहाँ उपचार सेवा दिएका छन् । हुरीमा परी घाइते भएकालाई भेटेर उहाँले स्वास्थ्यलाभको कामना गर्नुभयो ।

हुरीमा परी घाइते भएकाको उपचारका लागि सहयोग गरिने मन्त्री दुलालले बताउनुभयो । हुरीका कारण भत्किएका घर, गोठ, विद्यालय, सार्वजनिक संरचनाको स्थलगत अवलोकनपछि मन्त्री दुलाल कलैया अस्पताल पुग्नुभएको थियो ।

उक्त बस्तीमा हावाहुरीमा परी १५ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताउनुभयो । बस्तीमा एकै घरका चार जनाको मृत्यु भएको पाइएको उहाँले जानकारी दिनुभयो ।

‘खानेकुरा र अन्नपात माटोमा मिसिएका छन् । उनीहरुलाई तत्काल पानी र खानेकुरा आवश्यक देखिन्छ,’ स्वकीय सचिव पौडेलले बाराबाट भन्नुभयो–रातभर खुला आकाशमा बिताएका उनीहरु के खाउँ र कहाँ जाऔं भन्ने स्थितिमा छन् ।

स्थानीयले ३ हजार घरमध्ये ८० प्रतिशत घरमा क्षति पुगेको बताएका छन् । हावाहुरीले बाराको भरवलियाको एक घरसमेत सग्लो छैन । तीव्रगतिमा आएको हुरीका कारण ढलेका बिजुलीका पोल, रुख र घरका पर्खालमा च्यापिएर घरभित्र बसेकाहरुको मृत्यु भएको थियो । हुरीबतासका कारण धेरै जना घाइते भएको अनुमान छ । मृत्यु हुने र घाइतेको संख्या बढ्नसक्ने अनुमान छ । राति करिब ९ बजेदेखि आधा घण्टा असिनापानीसँगै हुरीबतास आएको थियो ।