जिल्ला सहकारी संघको भ्रष्टाचार जोगाउन संचार मन्त्रीको सक्रियता


पार्टीको छानविन समितिमा साविक नेकपा माओवादी केन्द्रको विरोध

नेपाल समाचारपत्र, काठमाडौ ।

जिल्ला सहकारी संघ काभ्रेमा भएको अनियमितता जोगाउन सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको सक्रियता बढेको छ । जिल्ला सहकारी संघले मंगलबार सहकारी दिवसको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा मन्त्री बास्कोटालाई प्रमुख अतिथी बनाईएको छ ।

एक वर्ष अघि काभ्रे कर्जासँगको सम्झौतामा कुरा नमिल्दा मन्त्री बास्कोटा कार्यक्रममा अनुपस्थित थिए । ११ लाख दिने सहमति हुँदा सञ्चालक समितिले काभ्रे कर्जालाई २१ लाख भुक्तानी गरेको छ । बाँकी रकम कमिसनमा खर्च गरिएको छ । साधारण सभाले संघको साधारण सभामा माईन्युटमा हस्ताक्षर गर्ने सदस्य तोकिए पनि हस्ताक्षर विना नै अध्यक्ष विनोद पराजुली, सचिव दिलिप शर्मा र कोषाध्यक्षको समेत जिम्मेवारी लिएका संचालक सदस्य ठाकुर अधिकारी समेतको मिलेमत्तोमा रकम भुक्तानि गरिएको छ । ‘पैसा हुँदा सबै थोक हुने नियम जिल्ला सहकारी संघमा देखिएको छ’–एक संचालकले भने ।

मंगलबार मन्त्री बास्कोटा आउने कार्यक्रममा नेकपा माओवादी केन्द्र निकटका सहकारीवालाहरुले कालो झण्डा समेत देखाउने तयारी गरेका छन् । पार्टीमा उजुरी परेको, छानविन समिति गठन भए पनि छानविनमा आलटाल गरेको र त्यहि अनियमितलाई प्रोत्साहन गर्न मन्त्री प्रमुख अतिथी बनेर आउन लागेको भन्दै उनको आलोचना भएको छ । मन्त्री बास्कोटा आउने कार्यक्रम बहिस्कार गरिने माओवादी निकट एक संचालकले बताए ।

सहकारी संघ भित्र भएको भ्रष्टाचार छोप्न र वर्तमान नेतृत्वलाई चोखो देखाउन सरकारका प्रवत्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई प्रमुख अतिथी बनाउँदै निमन्त्रणा वितरण गरिएको छ । मन्त्री प्रमुख अतिथी बनाएपछि अनियमितता लुकाउन सकिन्छ भन्ने वर्तमान नेतृत्वको बुझाई छ । मन्त्री बास्कोटा, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल लगायतले शुरु देखि नै सहकारी संघमा भएको अनियमिततालाई साथ दिदै आएको रहस्य खुलेको छ ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालको निर्देशनमा नेकपाको जिल्ला कार्यालयमा भएको छलफलमा अनियमितता जोगाउन दबाब दिईएको थियो । अध्यक्ष विनोद पराजुली, सचिव दिलिप जंगम, सदस्य ठाकुरनाथ अधिकारी लगायतले नक्कली कागजात बनाएर गरेको अनियमिता बाहिरिएपछि नेकपा कार्यालयले हस्तक्षेप गर्दै भ्रष्टाचार लुकाउन दबाब दिएको हो । ‘भ्रष्टहरु जोगाउन सकिएन भने आगामी अधिबेशनबाट नेकपा नेतृत्व बाहिरन सक्छ’–नेकपाका नेताहरुको भनाई उदृत गर्दै श्रोतले भन्यो–‘अधिबेशनसम्म चुप लाग्नुस ।’ पार्टी निकट सदस्यहरुलाई समेत भ्रष्टाचारका बारेमा नबोल्न चेतावनी दिईएको छ । उता समिक्षा बैठकमा संचारमाध्यममा आएको भ्रष्टाचारको फेहरिस्त छानविनको माग गरिएको छ ।

संघबाट सूचना ब्यवस्थापन तथा तथ्याङ्क विश्लेषण पुस्तिका छपाईका लागि ९० हजार ६१ रुपैया भुक्तानी गरेको छ । उक्त रकम सचिव दिलीप शर्मा जंगमले बुझि लिएका छन् । अध्यक्ष विनोद पराजुलीको निर्देशनमा भएको उक्त भुक्तानी अध्यक्ष पराजुली, सचिव शर्मा र सदस्य ठाकुरनाथ अधिकारीले बुझि लिएका छन् । जिल्ला सहकारी संघमा उक्त पुस्तक प्रकाशन भएको रेकर्ड नभएको संचालक सदस्यले बताएका छन् । १ हजार प्रति पुस्तक छाप्ने भन्दै रकम भुक्तानी भएको बिल बुझाईएको छ ।

विवररणीका सम्वन्धी ११ सय प्रति पुस्तिका प्रकाशनका लागि ८६ रुपैया ७५ पैसा मुल्यमा १ लाख ७ हजार ८ सय ३० रुपैया भुक्तानी गरिएको छ । सहकारी विभाग तथा अन्य स्थानमा पुस्तकको कभर मात्रै बुझाएर उक्त रकम सचिव शर्माले बुझि लिएका छन् । तर पुस्तक प्रकाशन भएको छैन । त्यस्तै कार्यालयमै पहिला नै खरिद गरि भुक्तानी भईसकेको कम्प्युटर देखाएर ८० हजार १ रुपैया भुक्तानी गरिएको छ । कम्प्युटर नै खरिद नगरी विल मात्रै ल्याई सचिव शर्मा र अध्यक्ष पराजुलीले उक्त रकम बुझि लिएका छन् ।