ओखलढुंगामा स्कार्पियो दुर्घटना अपडेटः ज्यान गुमाएका ६ जनाकै सनाखत, घाइतेको अवस्था अझै नाजुक


लिला सुनुवार । ओखलढुंगा

ओखलढुंगामा भएको स्कार्पियो दुर्घटनामा परि मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । घाइते दुईजनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा रहेका छन् ।

त्यस्तै काठमाण्डौ बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । घाइतेको उदयपुरको घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनका कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

त्यस्तै काठमाण्डौ बौद्धका चालक कृष्ण श्रेष्ठ गम्भीर घाइते भएका छन् । अन्य दुई जना घाइतेको सनाखत हुन बाँकी रहेको छ ।

आइतबार विहान ११ः४५ बजे सोलुखुम्बुको सल्लेरीबाट काठमाण्डौं जाँदै गरेको बा१६च २२०७ नम्बरको स्कार्पियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका ७ स्थित भण्डारे खोलामा दुर्घटनामा परेको थियो ।