गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार श्रेष्ठलाई प्रदान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
रिपोर्टर्स क्लब नेपालले यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार एवम् कामना न्यूज पब्लिकेसन प्रा.लीका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई प्रदान गरेको छ ।

१ लाख रुपैयाँ राशी र ताम्रपत्र रहेको पुरस्कार नेपाल समाचारपत्रका सम्पादक दीपक रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लिनुभएकाे हो । बरिष्ठ पत्रकार एवम् कामना पब्लिकेसन्स् प्रा.लीका अध्यक्ष पुष्करलाल श्रेष्ठ बिरामी भइ अस्पतामा उपचारका क्रममा रहेका कारण उक्त समाराेहमा उपस्थित हुन सक्नुभएकाे थिएन ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा शुक्रबार बसेको पुरस्कार छनौट समितिको बैठकले पुरस्कार श्रेष्ठलाई दिने निर्णय गरेको थियो ।

आज आईतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित् राष्ट्रिय सभागृहमा आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको हो । श्रेष्ठ नेपाल समाचारपत्रका संस्थापक एवम् प्रधान–सम्पादक हुनुहुन्छ।

विगत साढे तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामा अविरल क्रियाशिल श्रेष्ठको योगदानको उच्च मूल्यांकन गर्दै क्लबले यही चैत्र १७ गते २१ औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।

वि.स. २०४१ साल मंसिर १५ गते कामना मासिक प्रकाशन गरेर श्रेष्ठले पत्रकारिताको यात्रा तय गर्नुभएको हो । नेपाली पत्रकारिताको व्यवसायिक जग बसाल्ने श्रेयपनि श्रेष्ठलाई नै जान्छ ।

कस कसले पाए पुरस्कार ?
त्यस्तै रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृती पत्रकारिता पुरस्कार रिपब्लिका अंग्रेजी दैनिकका प्रधान–सम्पादक सुवास घिमिरे र बरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गरेको छ ।

यो पुरस्कारको राशि एक लाख रहेको छ । घिमिरे र जोशीलाई जनही ५०÷५० हजार रुपैयाँ प्रदान गरिएको छ।

यो वर्षको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सहायक बरिष्ठ उप–सम्पादक राजेश मिश्रलाई दिइएको छ । मिश्रलाई प्रदान गरिने पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

यसैगरि कृष्णसेन ईच्छुक स्मृती पत्रकारिता पुरस्कार क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष एवम् प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरिएको छ । उनलाई दिईने उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

यसैगरी यस वर्षको शहिद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कार पत्रकार डिल्ली बसेललाई प्रदान गरिएको छ । बसेललाई दिईने उक्त पुरस्कारको राशि २५ हजार रहेको छ ।

यसैगरि यो वर्षको रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार पत्रकार सन्तोष न्यौपानेलाई प्रदान गरिएको छ । पत्रकार न्यौपानेलाई प्रदान गरिने यो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

यो वर्षको क्रियाशिल युवा पत्रकारिता पुरस्कार–२०७५ राजधानी दैनिकका समाचार सम्पादक ध्रुव लम्साललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरि यो वर्षको क्रियाशिल महिला पत्रकारिता पुरस्कार पत्रकार उषाकिरण कँडेललाई प्रदान गरिने भएको छ । उनलाई दिईने उक्त पुरस्कारको राशि १० हजार रहेको छ ।