विनोद सिंह विष्ट, बैतडी
बैतडीका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापन केन्द्र(डम्पिङ साइड ) निर्माण गरेका छैनन् । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै वपनि स्थानीय तहले फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न नसकेका हुन् ।
जिल्ला सदरमुकाम क्षेत्रमा समेत डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापन चुनौती बन्दै गएको छ । जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकासंग पनि डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा समस्या देखिएको छ । २०५४ सालमा स्थापना भएको नगरपालिकाले विभिन्न ठाउँमा अस्थायी रुपमा फोहर व्यवस्थापन गर्दै आएको छ ।
केही बर्ष सम्म सडक छेउमै फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाले जनप्रतिनिधि आएपछि वडा नं ६ को आमपिपलमा अस्थायी रुपमा फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताउनुभयो । डम्पिङ साइडको लागि जमीन खोज्न थालेको बर्षौं भएपनि उपयुक्त जमीन नमिलेको उहाँले बताउनुभयो ।
नगरपालिकाको क्षेत्र विस्तार भएकाले सबै वडाको फोहर व्यवस्थापनका लागि पायक पर्ने जमीनको खोजी भईरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । फोहर व्यवस्थापनका लागि नगरपालिकाले शुरु देखि नै पहल थालेको भएपनि जमीन नपाउँदा समस्या भएको छ ।
यस्तै पाटन नगरपालिकामा पनि फोहर व्यवस्थापनको समस्या देखिएको छ । पाटन नयाँ शहर आयोजनाले डम्पिङ साइड निर्माण गर्ने भनेकाले नगरपालिकाले त्यसका लागि बजेट विनियोजन नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबीन अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिकाले अहिले घाङल खोलामा अस्थायी रुपमा फोहर व्यवस्थापन गरिरहेको छ । खुला रुपमै खोलामै फोहर फाल्ने गरेको त्यो फोहर सुर्नया नदीमा मिसिने गरेको छ । पाटन नयाँ शहर आयोजनाले बजारभन्दा टाढा सुन्तोली भन्ने ठाउँमा डम्पिङ साइड बनाउने तयारी गरेको थियो । तर त्यहाँ सम्म पुग्ने सडक समेत निर्माण गरिएको छैन् ।
राज्यपुर्नसंरचनापछि स्थापना भएका मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा पनि डम्पिङ साइडको व्यवस्था छैन् । बजारमा निस्कने फोहरको व्यवस्थापन नहुँदा तिनीहरुले विभिन्न खालका स्वास्थ्य समस्या ल्याउने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।











प्रतिक्रिया