विद्युत अभावले एसइई दिने विद्यार्थी प्रभावित

0
Shares

नवलपरासी ।
पूर्वी नवलपरासीको नवलपुर क्षेत्रमा आउदो एक साता विद्युत अभाव हुने नेपाल विद्युत प्राधिकरण कावासोतीले जनाएको छ । गत सोमबार राती अप्रत्यासित रुमा आएको हावाहुरी र वर्षाद संगै १ सय ३२ के.भि. प्रसारण लाईन अन्तरगत बुटबल ग्रीड महाशाखाको देवचुली नगरपालिका प्रगति नगर स्थित सवस्टेसनको ट्रान्सफर्मर विग्रदा नवलपुरका चार नगरपालिका र दुई गाउपालिकामा विद्युत अभाव भएको छ ।

विद्युत अभावसंगै नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र कावासोतीले बुधबार एक विज्ञप्ती जारी गर्दै ट्रान्सफर्मर मर्मत गर्न हप्ता दिन भन्दा बढी समय लाग्ने र सो अवधिमा न्युनतम रुपमा चितवनको भरपुर र पश्चिम नवलपरासीको बर्दघाटबाट लाइन तानेर काम चलाउने जनाएको छ ।

प्रगति नगर सवस्टेसनमा रहेको ३० एमभिए क्षमताको ट्रान्सफर्मर विग्रदा सदरमुकाम कावासोती लगायत जिल्लाका मुकुन्दपुर, रजहर, चोरमारा, दुम्किबास लगायत जिल्लाका अधिकांश भू भागमा मंगलबार विहानै देखि विद्युत अभाव देखिएको छ । प्राधिकरणले २२ एमभिए विद्युत खपत हुने नवलपुर क्षेत्रमा प्राथमिकताका आधारमा भएको २ एमभिए विद्युतबाट सरकारी कार्यालयहरु, सूचना तथा संचार गृहमा आलोपालो विद्युत वितरण गर्ने जनाएको छ ।

विद्युत अभाव हुदा जिल्लाका ठूला टुवोर्ग वियर, सिजि सिमेन्ट, टाईम फर्मा, सिजी उद्योग ग्राम लगायतका उद्योग प्रतिष्ठानका दैनिक उत्पादनमा प्रभावित हुने भएकाछन् ।

सबै भन्दा ठुलो मार यस पटकको एसइर्इ दिन बसेका विद्यार्थीमा परेको छ । उनीहरु अहिले क्यान्डलको भरमा पढ्न बाध्य भएका छन । विद्यार्थीको भबिष्य नै अन्यौलमा पर्ने गरी विद्युत आपुर्ति बन्द भएपछि सरकारले बैकल्पिक ब्यवस्था गर्नुपर्ने अभिभावकहरुले माग गरेका छन ।