गंगा बराल, काठमाडौँ ।
संघीय संसदका दुवै सदनमा सांसदहरूले विभिन्न भाषामा बोलेका कुरा नेपालीमा अनुवाद गर्न अनुवाद इकाई स्थापना गरिएको छ । तर उक्त इकाईमा विभिन्न भाषाअनुसारका कर्मचारीको व्यवस्था नहुँदा कुन सांसदले के बोले भन्नेबारे संघीय संसद सचिवालय नै अन्यौलमा पर्ने गरेको पाइएको छ ।
प्रतिनिधिसभाको कार्य व्यवस्था महाशाखाअन्तर्गत रहेको सम्पूर्ण विवरण शाखामा अनुवाद इकाई रहेको छ । महाशाखाका सहसचिव बंशिराज पौडेल विभिन्न भाषाका विज्ञ वा कर्मचारी नहुँदा अहिलेसम्मको अनुवाद गर्न नसकिएको बताउनुहुन्छ ।
अनुवाद गर्ने कर्मचारी नभएकाले नयाँ वजेटमा यसका लागि वजेट छुट्याउन सुझाव दिने बताउँदै उहाँ भन्नुहुन्छ ‘नेपालीबाहेक अन्य भाषाको अभिलेखमा राख्न पाइएको छैन । नेपाली भाषाबाहेक अरु भाषामा बोले अन्य भाषा भनेर उल्लेख गर्ने गरिएको छ ।
सम्पूर्ण विवरण शाखाका उपसचिव नारायणप्रसाद ढकाल पनि भाषा अनुवादक नभएकाले काम गर्न नसकिएको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ–‘सांसदले कतिवटा भाषामा बोल्नुहुन्छ र कतिजना अनुवादक चाहिन्छ भन्ने टुंगै छैन ।’
तर अहिलेसम्म सांसदले बोलेका भाषाको गणना गरेर अनुवादक राख्न सकिने ढकाल तर्क गर्नुहुन्छ । संसदमा नेपाली, हिन्दी, मैथिली, भोजपुरी, नेवारी, बज्जिका लगायतका भाषा बढी बोल्ने सांसदहरुको उपस्थिति छ ।
संसदका तत्कालीन सहसचिव सोमबहादुर थापाको संयोजकत्वमा बनेको समितिले गरेको संगठन तथा व्यवस्थापन (ओएन्एम्) सर्वेक्षणमा अनुवाद इकाई पनि राखिने उल्लेखअनुसार यो इकाई राखिएको थियो ।
सर्वेक्षणले संघीय संसद् सचिवालयमा ४ सय ३५ कर्मचारी रहने सांगठनिक संरचनासहितको विवरण पेश गरेको थियो । २०६८ सालको जनगणनाअनुसार नेपालमा १ सय २५ वटा जाति रहेका छन् भने १ सय २३ वटा मात्रृभाषा रहेका छन् ।
अनुवादक इकाइका एकजनामात्र शाखा अधिकृत रोशन तण्डुकार पनि अहिलेसम्म अनुवादको केही काम नभएको स्वीकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ–‘अनुवाद गर्ने भनिएको छ तर विज्ञ अनुवादक नै छैनन् । अनुवाद गरिएको विवरण सही÷गलत रुजु गर्ने जनशक्ति पनि छैन ।’
इकाईमा नेपाली वृहत शब्दसागर, नेपाली शब्दकोष, अंग्रेजी–नेपाली वृहत शब्दकोषका पुस्तकहरु राखिएका छन् । अनुवाद गरिएको पुस्तिका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद सचिवालयको पुस्तकालयमा १÷१ प्रति उपलब्ध गराइन्छ ।











प्रतिक्रिया