टीका बन्धन, काठमाडौँ ।
काठमाडौंको रानीवारी, मध्य शहरभित्रको एक्लो सामुदायिक वन । घना वस्तीभित्रको यो वनको मनोरम दृश्य र त्यहाँको वातावरणले बुधवार विहान नेपालका लागि अस्टे«लियाली राजदूत पिटर बुडलाई निकै मोहित बनायो ।
विहान ७ बजे रानीबारी पुग्नुभएका उहाँले धेरैबेर पन्छी अवलोकन गर्दै त्यहाँको प्राकृतिक पक्षबारे चासो लिनुभयो । निकै उत्साहित मुद्रामा देखिनु भएका बुडले भन्नुभयो–‘नेपालको वनमा पहिलोपटक पन्छी अवलोकन गर्न पाए, मध्य शहरभित्रको वनमा पन्छी अवलोकन गर्न पाउँदा मलाई झनै नौलो अनुभूति भएको छ ।’
स्थानीय रानीबारी सामुदायिक वन उपभोक्ता समुह र नेपाल पन्छी संरक्षण संघ (वीसीएन)का अधिकारीले बुडलाई पन्छी अवलोकनमा सहजीकरण गर्दै त्यहाँ पाइने पन्छीका प्रजाती र काठमाडौं महानगरपालिकाभित्र समुदायले स्वामित्व लिएको वनको विविध पक्षबारे अवगत गराए ।
कुटनीतिक वृत्तबाट पन्छी अवलोकनकै लागि सो क्षेत्र पुग्नुभएका बुड पहिलो विशिष्ट विदेशी पाहुना हुनुभएको समुहका अध्यक्ष सन्तोषविक्रम शाहले बताउनुभयो ।
रानीबारी काठमाडौ महानगरपालिकाभित्रको एकमात्र सामुदायिक वन हो ।
कामपा–३ मा रहेको सो वन ६ दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा लाटोकोसेरोका प्रजाती सहजै देखिन्छ भने गर्मी तथा हिउँदयाममा बसाईसराई गरी आउने पाहुना चरा पनि भेटिन्छन । त्यहाँ फुस्रो टाउके सारौं, कोइली, सुन्तले चाचर, कोचलगाडे,लाटोकोसेरो, कालोपेचक,कोकले, स्यालपोथरी लामपुच्छे्र जस्ता पन्छी देखिन्छन् ।
बुधवारको अवलोकनका क्रममा विभिन्न ४० प्रजाती पन्छी भेटिए । यसअघि त्यहाँ विभिन्न १ सय ५ प्रजातीका पन्छी अभिलेख गरिएको वीसीएनले जनाएको छ ।
रानीबारी २०५७ पुस १०मा जिल्ला वन कार्यालय काठमाडौँमा दर्ता भएपछि सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हुँदै आएको हो । समुहमा ४० भन्दा बढी घरधुरी आवद्ध भएका समुहका अध्यक्ष शाहले जानकारी दिनुभयो । उक्त वनमा समुह र वीसीएनको सहकार्यमा ४ वर्ष अघि जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापना गरिएको छ । सो क्षेत्र केन्द्र चरा अवलोकनका अतिरिक्त विद्यालयतहका विद्यार्थीकालागि खुला अध्ययन प्रयोगशाला ‘ओपन ल्याव’का रुपमा विकास गरिएको छ ।
सो केन्द्रले विद्यालय तहका विद्यार्थीलाई प्राकृतिक बासस्थानका पन्छी र तिनका प्रजाती, रैथाने र आगन्तुक पन्छी, तिनको आनीबानीबारे अवगत गराउँदै आएको छ ।
‘यो प्राकृतिक पाठशालामा विज्ञान, अंग्रेजी र गणितलाई प्रकृतिसँग जोडेर विद्यार्थीलाई ज्ञान र अनुभव बाढ्ने गरिएको छ’–बीसीएनका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुसालले भन्नुभयो । सो वनलाई वडा कार्यालयले पनि प्राकृतिक पाठशालाका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष शाहले बताउनुभयो ।











प्रतिक्रिया