पातीखोलामा बस्ती संरक्षण गर्न तटबन्ध लगाइदै


नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको मोदी गाउँपालिका २ देउपुरमा मुख्य बस्ती पातीचौर संरक्षण गर्न तटबन्ध लगाउन शुरु भएको छ ।

देउपुर – कुँडहर प्रसारण आयोजनाको निर्माण ठेकेदार कम्पनी जेवीभी इन्डिया लिमिटेडले करिब ५ करोडको लागतमा पातीचौरको सुन्चाप आसपासको बस्ती, पातीचौर बजार, पोखरा–बागलुङ र पातीचौर–मैदान सडकसमेत संरक्षण गर्नेगरी काम सुरु गरेको हो ।

गत पुसदेखि सुरु भएको बस्ती संरक्षणको काम अन्तिम चरणमा पुगेको मोदी गाउँपालिकाले जनाएको छ । मोदी–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार पातीखोलाको करिब दुई सय मिटर लम्बाइको दूरीमा ५ लेयर ग्याभिन जाली लगाउने काम अहिले धमाधम भइरहेको छ । ‘कटान रोकथामका लागि धेरैतिर हारगुहार गरेका थियौं,’ उनले भने, ‘अहिले आयोजनाले स्थानियबासीको माग अनुसार तटबन्ध लगाउने काम गरेको छ’। आयोजनाको देउपुरमा निर्माणाधीन सबस्टेसनसम्म पुग्ने सडक पनि यही खोला किनार हुँदै जाने भएकाले ठेकेदार कम्पनी यहाँ लगानी गर्न सकारात्मक भएको हो । कटान नियन्त्रण आयोजनाकै लागि आवश्यक भइदिँदा गाउँले लाभान्वित हुने भएका हुन् ।

सुन्चापदेखि पातीचौर बजारसम्म नै जालीका ढुंगा भर्ने काम भइरहेको छ । यसअघि वर्षामा आउने पातीखोलाको भेलले किनार आसपासका बस्तीमा समेत असर पु¥याउँदै आएको थियो । नदी किनारको खेतीयोग्य जमिनको ठूलो क्षेत्र बेला बेला बगाएर बगरमा परिणत भएको छ । बर्से्नि नदीले जमिन कटान गर्दै जाँदा खेत बगरमा परिणत भएपछि कतिपय परिवार बसाइँ पनि सरेका थिए । तीन वर्षअघि आएको बाढीले खोलाकिनारको रेन्बो ट्राउट माछा फर्म बगाउँदा उद्यमी यामप्रसाद शर्मा र हरि चुवाईं लगायतलाई ठूलो नोक्सानी भएको थियो ।

आयोजनाले स्थानीयको माग र परियोजनाको दीर्घकालीन समस्या समाधानका लागि खोला संरक्षण गर्न लागेको हो । ‘त्यहाँका जनप्रतिनिधि र स्थानीयले धेरैपटक आग्रह गर्नुभयो,’ आयोजना प्रमुख रोशन अग्रवालले भने, ‘हाम्रो सबस्टेसनमा जाने बाटो पनि परेकाले काम थालेका हौं ।’ १२ हजार घनमिटर जाली लगाउन करिब ५ करोडको स्टिमेट गरिएको उनले बताए ।

नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन आयोजना मोदीखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाउनेगरी निर्माणाधीन आयोजना हो । ३ वर्षअघिदेखि नेपाल विद्युत् प्राधिकरणले यो आयोजना निर्माण सुरु गर्न थाले पनि मुआब्जा वितरण, वातावरणीय प्रभाव मूल्यांकन लगायतमा अवरोध सिर्जना हुँदा काम केही समय रोकिएको थियो ।