चौरजहारीले नगरबस खरिद गर्यो

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस संचालनका लागी बस खरिद गरेको छ । नगरबासीलाई स्थानीय स्तरमा सस्तो र सुलभ रुपमा आवतजावत गर्ने सेवा प्रदान गर्नका लागि नगरपालिकाले बस किनेर ल्याएको हो ।

नगर कार्यपालिकाबाट निर्णय गरेर नगर बस सञ्चालनका लागि करिब ६ महिना अघिदेखि यसको खरिद प्रक्रिया सुरु गरिएको थियो । नगरपालिकाले कूल ९४ लाख १५ हजार रुपैयाँ लागतमा तीनवटा बस खरिद गरेको नगरपालिकाका उपप्रमुख राधा रोकाले जानकारी दिनुभयो ।

नगरपालिका भित्र चौरजहारी–खोलागाउ–नुवाकोट रुटमा बस सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो । नगर बससेवा सञ्चालनका लागि बस चालक नियुक्तिका लागि सूचना प्रकाशन गरिएको र केहिदिन भित्र त्यसको प्रक्रिया पूरा गरेर सेवा सुचारु गरिने नगरपालिकाले जनाएको छ ।

‘नगरभित्रका नागरिकका लागि बिना भेदभाव यसको प्रयोगमा जोड दिइनेछ ।’ उहाँले भन्नुभयो,‘यसको भाडादर पनि न्यायोचित हिसाबले निर्धारण गरिनेछ ।’ अबको एक हप्ताभित्र चालक नियुक्ति, भाडादर कायम लगायतका सबै काम सकेर नियमित सेवा सुरु गरिने उपप्रमुख रोकाको भनाई छ ।

चौरजहारी नगरपालिका नगर बससेवा सञ्चालनमा ल्याउने रुकुम पश्चिमको पहिलो स्थानीय तह बनेको छ । स्थानीय रुटमा चर्को भाडादर तिर्दै आएका नगरबासी सर्वसुलभ भाडादरमा नयाँ गाडी चढ्न पाउने भएपछि खुसी देखिएका छन् ।