कृषक तथा सञ्चारकर्मी सम्मानित

0
Shares

नेपाल समाचारपत्र, पोखरा ।
अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो पाँचौं गाउँसभाका अवसरमा चार जना सञ्चारकर्मी तथा गाउँपालिकाका ११ वटै वडाका तीन तीन जना कृषकलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । गाउँसभाका अवसरमा कोदो खेती प्रति कृषकको आकर्षण बढाउन उत्प्रेरित गर्ने लक्ष्यका साथ कृषकलाइ पुरस्कार तथा सम्मान गरिएको हो ।

प्रत्येक वडामा अधिकतम कोदो उत्पादन गर्ने मध्ये पहिलो, दोस्रो र तेस्रो कृषकलाई जनही क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद सहित ३३ जना लाई पुरस्कृत गरिएको छ भने समाचार सम्प्रेषणका माध्यमबाट अन्नपूर्ण गाउँपालिकाको समग्र विकास एवम् प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै रासस गण्डकी प्रदेश कार्यालय पोखराका वासुदेव पौडेल, नेपाल समाचारपत्रका टंकराज अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिकका दीपक परियार र आदर्शसमाज राष्ट्रिय दैनिकका श्रीभद्र पौडेललाई सम्मान गरिएको हो ।

उनीहरुलाई गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र उपाध्यक्ष सगुन गुरुङले दोसल्ला ओढाएर सम्मान गरे । अन्नपूर्ण गाउँपालिकाका हरेक गतिविधिलाई सञ्चारमाध्यमबाट प्रचार प्रसार गरी विशेष सहयोग पुर्‍याएको कारण चार जना सञ्चारकर्मीलाई सम्मान गरिएको अध्यक्ष कुँवरले बताए ।
कार्यक्रममा प्रविण गुरुङ स्मृति लोकदोहोरी प्रतियोगिता व्यवस्थापन समितिका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।

गाउँसभाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ समेत पारित गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार गाउँपालिकाले आर्थिक ऐन, सहकारी ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन र विनियोजन ऐन गरी चार ऐन र विभिन्न १४ वटा कार्यविधि, नियमावली तथा निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित गरिसकेको छ ।