विप्लवलाई प्रतिबन्ध लगाउन हतार भयो: देबेन्द्र पौडेल

0
Shares

काठमाडौं, (नेस) ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देबेन्द्र पौडेलले सरकारले हतारमा आएर बिप्लब नेतृत्वको माओवादीलाई राजनीतिक गतिविधि गर्न रोक लगाइएको बताउनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको पार्टीलाई राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

संबाद चौतारीले बुधबार राजधानीमा आयोजना गरेको अन्तरसम्बादमा पौडेलले सरकारको यस्तो निर्णयले पुरानै अवस्थामा फर्कन सक्ने खतरा भएकोसमेत बताउनुभयो । पौडेलले बिप्लवका गतिविधि अराजक बन्दै गएको, आगजनी र तोडफोड बढेकाले नियन्त्रण गर्नु आवश्यक भएको प्रष्ट पार्नुभयो । ‘वार्ताका लागि केही समय आव्हान गर्र्नुपर्ने थियो, राज्यले नियन्त्रण गर्न नसक्ने गम्भीर घटना भइसकेका थिएनन्’ पौडेलले भन्नुभयो ‘ हिजोको माओवादी द्धन्द्ध पनि वार्ताबाट समाधान भयो, त्योभन्दा ठूलो समस्या यो होइन ।’

पौडेलले पार्टीमा छलफल गरेर यो निर्णय गरेको भए राम्रो हुनेसमेत बताउनुभयो । उहाँले विप्लवको विषय राजनीतिक भएकाले वार्ताका माध्यमबाट नै समस्याको हल खोजिनुपर्ने जनाउनुभयो । उहाँले सीके (चन्द्रकान्त) राउतसँग सरकारले सहमति गरेर एउटा आन्दोलनको अन्त्य गरेको बताउनुभयो । ‘सरकारले मधेशका र अन्य समस्यालाई वार्ता र छलफलबाट निकास दिनुपर्छ’ उहाँले भन्नुभयो ‘ राउतले मधेशलाई छुट्टै ढंगले हेर्ने भनेका थिए तर अब त्यो समस्याको समाधान भएको छ, यो सकारात्मक कदम हो ।’ उहाँले राजनीतिमा विश्वसनियता, इमान्दारिता र नैतिकताको खाँचो भएकाले त्यसबाट पछि हट्न नहुनेसमेत बताउनुभयो ।

पत्रकारले बिप्लवले सरकारले गरेको निर्णयको विरोधमा फेरि कडा ढंगले प्रतिकार गर्ने भनेका छन् नि भन्ने प्रश्नको जवाफमा उहाँले प्रतिप्रश्न गर्ने र फेरि जवाफ दिने कार्यशैली राम्रो नभएकाले प्रतिवद्धता पूरा गर्न सबै पक्ष इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । पौडेलले सरकारले जनतामाझ गरेका प्रतिवद्धता पूरा गरेर आफ्नो लोकप्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।