समान कामको समान ज्याला लागु गर्ने निर्णय

0
Shares

हेटौंडा,(नेस) ।

मकवानपुरका स्थानीय तहहरुमा समान कामको समान ज्याला लागु गर्ने निर्णय गरिएको छ । आइतबार जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा बसेको समन्वय बैठकले जिल्लामा महिला र पुरुषबीच समान कामको समान ज्याला लागु गर्ने निर्णय गरेको हो ।

जिल्लाका सबै स्थानीय तहका प्रमुख एवम् उपप्रमुखले निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले आगामी आर्थिक वर्षबाट ऐन बनाएर महिला र पुरुषबीच समान कामको समान ज्याला लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कानुनमा महिला र पुरुषबीच समान कामको समान ज्याला प्राप्त गर्ने अधिकार रहेको भन्दै उक्त प्रावधान कार्यान्वयनका लागि समान कामको समान ज्याला लागु गर्न लागिएको प्रमुख खुलालले बताउनुभयो ।

कानुनमा व्यवस्था रहे पनि कतिपय अवस्थामा समान ज्याला कार्यान्वयनमा नआएको भन्दै त्यसको कार्यान्वयनका लागि ऐन निर्माण गरेर लागु गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । बैठकमा हेटौंडा उपमहानगर मेयर हरिबहादुर महत र थाहानगर मेयर लवशेर बिष्टलगायत मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता थियो ।