उच्च अदालतमा मुद्दाको चाप घट्दो

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाको चिनी कारखाना परिसरमा रहेको उच्च अदालत वीरगन्जको अस्थायी ईजलासले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ४७.८८ प्रतिशत मुद्धा फर्छ्यौट गरेको जनाएको छ ।

जिम्मेवारी सरेर आएका एकहजार २१४ र नयाँ दर्ता भएका एकहजार ९६० गरी कुल तीन हजार १७४ मुद्दामध्ये एकहजार ५२० वटा फर्छ्यौट भएको हो ।

गत आवको यही अवधीमा अदालतमा रहेका तिनहजार ३३७ मुद्धामध्ये एकहजार ९१ वटा (३२ प्रतिशत) को मात्र फैसला भएको थियो । मुद्दा संख्याको आधारमा मध्यम तहको न्यायालयले कुल मुद्दाको ७० प्रतिशत फछ्र्यौट गर्नुपर्ने प्रावधान छ । १८ महिना नाघेका मुद्धा फछ्र्यौट भइसक्नुपर्नेमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा २ वर्ष नाघेका २१ वटा १८ महिना नाघेका ५५, १ वर्षदेखि १८ महिनासम्मका ७५ र एकवर्ष भित्रका एकहजार २१४ वटा मुद्दा फर्छ्यौट हुन बाँकी छ ।

यो वा त्यो कारण देखाएर पन्छिन नपाइने अदालतको नीति भएपनि आन्तरिक कमकमजोरीका कारण डेढ वर्ष नाघेका मुद्दा पनि बाँकी रहेको मुख्य न्यायाधीश डिल्लीराज आचार्यले बताए ।

७० प्रतिशत मुद्धा फर्छ्यौट गर्ने लक्ष्यसहित चालु आवमा ३५ सय १२ मुद्धा पर्ने अनुमान अदालतले गरेको छ । मुद्दाको संख्या ६०० जति बढ्ने अनुमान गरेको मुख्य न्यायाधीश आचार्यले बताए ।

उनका अनुसार, यो वर्ष जम्मा तीन हजार ५१२ मुद्दा हुने अनुमान गरेकोमा माघ मसान्तसम्म तीन हजार १७४ वटा भयो । प्रतिमहिना २५० को दरले मुद्दा बढिरहेको उनले जानकारी दिए ।