“महिलाकै कारण ऐतिहासिक संर्घष सफल भएको”

0
Shares

सुम्निमा काफ्ले, काठमाडौं
उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाहरूको सन्तुलित भूमिकाले नै ऐतिहासिक संर्घष सफल भएको बताउनुभएको छ।

१०९औं अन्तर्र्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरको आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

जैविक हिसाबले महिलाका जिनहरूको संख्या पुरुषको भन्दा बढी हुने भएकाले महिला पुरुषभन्दा शक्तिशाली हुने तर्क राख्दै उपराष्ट्रपति पुनले भन्नुभयो– ‘महिलाले आफ्नो हक–अधिकार र अवसर प्राप्तिका लागि गरेको कठोर संर्घषकै प्रतिफलस्वरूप नारीजगत पनि राष्ट्र निर्माणमा अघि बढ्न पाएको हो।’

देशको अर्थतन्त्र माथि उकास्न आयत र निर्यातको क्षेत्रमा महिलाहरूको सहभागिताले ठूलो योगदान दिएको चर्चा गर्दै उहाँले देशमा परिवर्तन भए पनि महिलामाथि हुने विभिन्न घरेलु हिंसा र बलात्कारजस्तो जघन्य अपराधमा कमी आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो।

कर्मसका अध्यक्ष बाबुकाजी श्रेष्ठले यस दिवसको बारेमा चर्चा गर्दै विश्वभर महिला व्यवसायीको संख्या एक अर्ब पुर्याउने लक्ष्य विश्व बैंकको प्रतिवेदनमा रहेको उल्लेख गर्नुभयो।

नेपाल महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाको संघर्षकै कारण राज्यमा ३३ प्रतिशत कोटा प्राप्त भएको बताउनुभयो।

कार्यक्रममा युरोपियन युनियनकी राजदूत बेरोनिका कोडीले पनि शुभकामना दिनुभएको थियो। सो अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट पेसा र व्यवसाय गरेका ९ महिलालाई महिला चेम्बरले सम्मान गरेको थियो। कार्यक्रममा उपराष्ट्रपति पुनले विधाता श्रेष्ठ, कृष्णकुमारी पौडेल, मीरा भट्टराई, शिवकुमारी डंगोल, सुलोचना श्रेष्ठ नेवा, मञ्जु मिश्र, अनुपमा खुन्जेली र लक्ष्मी शर्मालाई सम्मान प्रदान गर्नुभएको थियो।