भेनेजुयलामा विद्युत् आपूर्ति ठप्प


काराकास, (एजेन्सी)
लगातार दोस्रो दिन शुक्रबार पनि भेनेजयुलामा विद्युत् आपूर्ति बन्द रहेपछि त्यहाँका विद्यालय र सरकारी तथा निजी कार्यालयहरु पनि बन्द हुन पुगेका छन्। भेनेजुयलाको एक प्रमुख विद्युत् उत्पादन केन्द्रमा देखिएको प्राविधिक गडबडीका कारण बिहीबार अपरान्हदेखि विद्युत् आपूर्ति रोकिएको हो।

तर राष्ट्रपति निकोलस माडुरोको सरकारले भने यस घटनाका लागि विपक्षी राजनीतिक समूहले षड्यन्त्र गरेको आरोप लगाएको छ। संयुक्त राज्य अमेरिका , केही प्रमुख युरोपेली र ल्याटिन अमेरिकी मुलुकहरुको सहयोग र समर्थनमा माडुरोलाई सत्ताच्युत गर्ने प्रयास भइरहेको बेला अकस्मात यो घटना थपिएको हो। विपक्षी नेता हुआ गुआइदोले आफूलाई भेनेजुयलाको अन्तरिम राष्ट्रपति घोषणा गरिसकेका छन्। शुरूमा राजधानी काराकासमा मात्र बत्ती गएकोमा पछि अन्य क्षेत्रहरु पनि प्रभावित हुन पुगेका थिए।

विद्युत् अभावका कारण काराकासस्थित प्रमुख विमानस्थलको थुप्रै उडान डाइभर्ट गरिएको सरकारी अधिकारीहरुले बताएका छन्। राजधानीका हजारां कामदारहरु हिँडेर गन्तव्यमा पुग्न बाध्य भएको बताइएको छ। उक्त बाँध परियोजनामा देखिएको समस्याका कारण टेलिफोन नेटवर्क र मेट्रो प्रभावित भएका छन्। आन्तरिक आपूर्तिका लागि भेनेजुयला तेल भण्डारमा भन्दा जलविद्युत् पूर्वाधारमा बढी निर्भर रहेको छ।

गुआइदोले भने– ‘सरकारको अक्षमताका कारण राष्ट्र अन्धारमा डुब्न पुगेको भन्दै चिन्ता र आक्रोश व्यक्त गरेका छन्।’ साथै उनले माडुरोलाई सत्तामा हटाउना साथ बिजुली फर्कने पनि बताएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पियाले माडुरो अक्षमताकै कारण खाद्यान्न, औषधि र बिजुलीको अभाव भएको आरोप लगाएका छन्।