चितवन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले आज भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षण गर्नुभएको छ ।
क्यान्सर अस्पतालमा कार्यरत ११ औँ चिनियाँ मेडिकल टिमको बिदाइ तथा १२ औँ मेडिकल टिमको स्वागत कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएकी सचिव चौधरीले दिउँसो अस्पतालको रेडियोथेरापी विभाग, अन्तरङ्ग विभाग, प्याथोलोजी विभागलगायतका अन्य विभागको समेत निरीक्षण गर्नुभएको थियो । अस्पतालमा रहेको अकुपञ्चर सेवाको विस्तारसमेत गरिएको छ । विगतमा दुईवटा श्ययाबाट सेवा दिँदै आइएकोमा अहिले सेवा विस्तार गरी आठ वटा श्यया पु¥याइएको छ ।
अस्पतालको निरीक्षण अनुगमनपछि सचिव चौधरीले अस्पताललाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । यहाँ रहेका अस्पतालमा विदेशी नागरिक पनि उपचार गर्न आउने गरेको सुन्न पाएको भन्दै उहाँले सेवालाई अझै चुस्त दुरुस्त बनाउनका लागि आग्रहसमेत गर्नुभयो । सङ्घीय सरकारले काम गर्ने अस्पताललाई प्राथमिकतामा राख्दै सेवा सुविधा विस्तार गर्ने नीति लिएको उहाँको भनाइ थियो ।
अहिले नेपालमा क्यान्सरको समस्या बढ्दो मात्रामा रहेको बताउँदै उहाँले यसको रोकथामका लागि काम गर्नु आवश्यक रहेको बताउनुभयो । सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालको वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो ।











प्रतिक्रिया