हिलोले सडक अस्तव्यस्त

0
Shares

मार्तडी, साँफे–मार्तडीको राजमार्ग सडकखण्डसँग जोडिएको करीब ५०० मिटर सडक अस्तव्यस्त बन्दै गएको छ ।

लगातारको वर्षाका कारण सडक निर्माण कार्य अवरुद्ध भएपछि एक महीनादेखि अस्तव्यस्त बनेको यातायात व्यवसायीले गुनासो गरेका छन् । सडक निर्माण कम्पनीले समयमै काम नगर्दा हिलाम्मे सडक भएपछि अस्तव्यस्त बनेको दुनीहाट बजारका अध्यक्ष मोहनलाल नेपालीले बताउनुभयो ।
उक्त सडकको तुफान डाँडादेखि त्रिवेणी चोकसम्मको सडक हिलाम्मे भएको स्थानीयवासी जनक बुढाले जानकारी दिनुभयो । उहाँले सो क्षेत्रको सडक हिलाम्मे भएर साना सवारी साधन आवतजावत गराउन निकै सकस हुने गरेको बताउनुभयो ।

निर्माण कम्पनीले समयमै सडक निर्माण नगर्दा यहाँका बासिन्दाले दैनिक सास्ती भोग्दै आएका छन् । हिलाम्मे सडकबाट यातायातका साधन आवतजावत गर्दा सडक छेउछाउका पसलमा पूरै हिलो आउने गरेकोले हैरानी खेप्दै आएको व्यापारी चक्रबहादुर रोकायाले बताउनुभयो ।

सडक निर्माणको जिम्मा लिएको केही सयममै पिएस कन्ट्रक्सनले काम नगरेको र सडकको माटो निकालेका कारण सडक हिलाम्मे भएर मान्छे समेतलाई आवतजावत गर्न कठिन भएको रोकाया जानकारी दिनुभयो ।
बडीमालिका नगरपालिकाको आर्थिक सहयोग निर्माण हुने सडकको निर्माण कार्यको जिम्मा पिएस कम्पनीले पर्खाल निर्माणको जिम्मा लिएको बताइएको छ । कम्पनीले सडक निर्माणका लागि पर्खाल निर्माण गर्न सहयोग गरेको कार्य सकिएकाले आफ्नो कुनै जिम्मवारी नभएको बताएको छ ।

डिभिजन वन–स्वास्थ्य सडक हिलाम्मे 

बडीमालिका नगरपालिकाले निर्माण गर्न थालेको डिभिजन वन कार्यालयदेखि जिल्ला स्वास्थ्य कार्यालयको सडक र गौडाडिलदेखि खुलामञ्चसम्मको सडक पनि पानीका कारण हिलाम्मे बनेको छ । सडक निर्माण भएको महीनौँ बितिसक्दा पनि निर्माणको जिम्मा लिएका दुई कम्पनीले समयमै सडक निर्माण नगर्दा उक्त क्षेत्र जाने बाटो हिलैहिलो भएको छ ।

यता गौडाडिलदेखि खुलामञ्चसम्मको जिम्मा लिएको डिबी कन्ट्रक्सनका ठेकेदार विजयराज पण्डितले सडक छेउछाउका घरधनीले समयमै बाटो खाली नगर्दा समस्या भएको बताउनुभयो । नगर प्रमुख पदम बडुवालले थोरै कम भएकाले सहमति भएको जग्गा छोडाउन सहजीकरण भइरहेको छ । घरधनीले सडक निर्माणका लागि आवश्यक सडक छाड्ने सहमति भएर काम अगाडि बढाइने नगर प्रमुख बडुवालको भनाइ छ ।