पूर्वाधार विकासको पर्खाइमा पर्यटकीयस्थल सोलेडाँडा (फोटोफिचर)

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
प्रशस्तै मात्रामा पर्यटकीय सम्भावना भएर पनि ओखरबोटको सोलेडाँडा पूर्वाधार विकासको पर्खाइमा रहेको छ । पहाडको उच्च भागमा अवस्थित म्याग्दी जिल्ला र छिमेकी बागलुङ जिल्लाको सिमानामा पर्ने पर्यटकीयस्थल सोलेडाँडाले वर्षौंदेखि विकासका पूर्वाधारलाई पर्खिरहेको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटमा पर्ने पर्यटकीयस्थल सोलेडाँडा पर्याप्त सम्भावना हुँदाहुँदै पनि पूर्वाधार विकास नहुँदा ओझेलमा पर्दै जान थालेको हो । सोलेडाँडासम्म सडकको पहुँच पुगेपनि अन्य पूर्वाधारहरुको विकास नहुँदा पर्यटकीय क्षेत्र सोलेडाँडाले अभाव झेल्दै आइरहेको छ । म्याग्दीको रुम, ओखरबोट र बागलुङको पश्चिमी तमान, लाम्मेला क्षेत्रमा फैलिएको सोलेडाँडामा सडक विस्तारसँगै आन्तरिक पर्यटकको गन्तव्य बने पनि आवश्यक पूर्वाधारको अभावमा समस्या भएको छ ।

म्याग्दीका चर्चित लोकगायक खड्ग गर्बुजाले ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई……. भन्ने बोलको गीत गाएर चिनाएको भए पनि पर्यटकीयस्थल सोलेडाँडामा अझै पनि आवश्यक पूर्वाधारहरु बन्न सकेका छैनन् । सोलेडाँडा घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गए पनि त्यहाँ बस्नका लागि ठाउँ नहुँदा समस्या हुने गरेको छ । जिल्ला बाहिरबाट सडकमार्ग भएर आउने पर्यटकहरुका लागि खानेपानी, शौचालय, टेन्ट लगायतका आवश्यक पूर्वाधारहरुको विकास हुन सकेको छैन ।

याग्दीको पश्चिमी भेगसहित बागलुङको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत पर्ने तमान, खुङ्खानी, बुङ्गादोभान र खुङ्गालगायत क्षेत्रका बासिन्दाले आफ्नो जिल्लाको सदरमुकाम बागलुङ पुग्न सोलेडाँडाको बाटो प्रयोग गर्दै आइरहेका छन् । सोलेडाँडामा पछिल्लोपटक आन्तरिक पर्यटकको चहलपहल बढेको ओखरबोटका स्थानीय नन्दबहादुर घर्तीमगरले बताउँदै यसको विकासका लागि दुवै जिल्लाका सरोकारवाला लाग्नुपर्ने बताए ।

समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा अवस्थित सोलेडाँडा सडक सञ्जालसँग जोडिएपछि बागलुङको विकट क्षेत्रका बासिन्दाले समेत तीनदिन लगाएर सदरमुकाम जानुपर्ने समस्या अन्त्य भएको छ । सोलेडाँडाबाट आसपासका जङ्गलमा ढकमक्क फुलेको विभिन्न प्रजातिका लालीगुराँस, प्राकृतिक सुन्दरताको साथै धौलागिरि, गूर्जा, चुरेन, अन्नपूर्ण, निलगिरी, माछापुच्छे«लगायत आधा दर्जन हिमशृङ्खलाहरु देख्न सकिन्छ । सोलेडाँडामा चैत, वैशाखमा राताम्मे लालीगुराँस र पुस, माघमा सेताम्मे हिमालहरु देख्न पाइन्छ ।

सोलेडाँडामा पुग्ने आन्तरिक पर्यटकहरु नजिकै रहेको गाँडाखसुङ तालमा पनि पुग्ने गरेका छन् । स्वर्गद्वारी पुग्न सजिलो र छोटो दूरीको मार्गका रुपमा समेत चिनिने सोलेडाँडालाई म्याग्दी र बागलुङका स्थानीयबासिन्दाले पर्यटकीय गन्तव्य रुपमा विकास गर्नुपर्ने माग गरेका छन् । होमस्टे, भ्युटावरलगायत पर्यटकलाई आकर्षित गर्ने खालका विभिन्न प्याकेज बनाएर काम गर्न सकिने योजनामा दुवै जिल्लाबाट लगानीको आवश्यकता रहेको स्थानीयवासीको भनाइ छ ।

दुई दिनको पैदलयात्रा सडक विस्तारसँगै चार घन्टामा सीमित भएपछि पश्चिम म्याग्दीको दरबाङ, देविस्थान, निस्कोट, रुमका विद्यालयबाट शिक्षक, विद्यार्थीहरु शैक्षिक भ्रमण तथा वनभोजका लागि सोलेडाँडा जाने गरेका छन् । सोलेडाँडा पुग्ने सडक मर्मतसम्भार गर्ने गरिएको बताउँदै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रको विकास गरिने बताएकी छिन् ।