पशुपतिमा दशनार्थीको घुँइचो, व्यवस्थापन फितलो

0
Shares

सुम्निमा काफ्ले, काठमाडौँ ।
पशुपतिनाथमा दर्शन गर्ने दर्शनार्थीहरुको घुईचो यसवर्ष पनि निकै देखियो । यसवर्ष फागुनको सोमवार नै शिवरात्री परेको र भारतको प्रयागराजमा भएको कुम्भ मेलाका दर्शनार्थीहरुमध्ये केहि पशुपतिनाथ मन्दिरमा आएकाले एक हप्तादेखि नै साधुसन्तसहितका भक्तजनको भिड बढेको पशुपति क्षेत्र विकास कोषको ठहर छ ।

सोमबारको पूजाआजा र दर्शनका लागि विहान ३ वजेदेखि नै पशुपतिका चारवटै ढोका खुल्ला गरिएको थियो । भक्तजनको भीडभाड व्यवस्थापन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशाला आसपासका १० रुटमा सोमवार बिहानैदेखि गाडी चलाउन रोक लगाएको थियो ।

यद्यपि पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रवन्ध मिलाएको भनिए पनि व्यवस्थापनमा कमजोरी देखिएको भक्तजनहरुको गुनासो छ ।

निषेधित भनिए पनि गाँजा, तमाखू खाने प्रशस्तै, बाबाहरू नै लठ्ठ

उनीहरू भन्छन् –विहान ३ बजेदेखि लाम बस्दा १२ बजे मात्र पालो पाइयो ।
भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा नगई पशुपति आएकी ४३ वर्षीया लक्ष्मी कार्की भन्नुहुन्छ–‘वर्षेनी आउने गरेको छु, यसपाली त भक्तजनको भीडभाड धेरै देखेँ । तर यसपालि धेरै मान्छेहरू लामको बीचबाट घुसे, लाम बसेका हामी सोझाको पालो घण्टौँ पर्खेपछि आयो ।’

काठमाडौँको मनमैजुबाट आएकी ३३ वर्षीया निर्मला सिटौलाको गुनासो पनि यस्तै छ । उहाँ भन्नुहुन्छ–स्वयंसेवक भन्दै लान्छन् लाइनको बीचैबाट छिराउँछन् । खै राम्रो प्रवन्ध गरेको भन्या सुने पनि विहान आठ बजेदेखि बस्दा २ वजे मात्र पालो आयो ।’

अर्काेतिर पशुपति विकास कोषले गाँजा निषेधित गरेको भने पनि मन्दिर परिसरमा केही समूह निर्धक्कसँग गाँजा खाँदै लठ्ठिरहेको देखिन्थ्यो भने नागाबाबाहरू विन्दास बनेर तमाखू तानिरहेका थिए ।