भक्तपुर । भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं ३ कौशलटार डाँफेटोलमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा आगलागी भएको छ ।
विद्युत सर्ट भई आइतबार राति ११ बजेदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट फर्निचर कारखानासँगै, शो रुम, गोदाम घर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका छन् । साथै श्रेष्ठको आफ्नै घरमा समेत क्षति पुगेको छ ।
उक्त फर्निचर उद्योग जलेर पूर्ण रुपमा नष्ट भएको छ । उद्योगसँगै रहेको राजु श्रेष्ठको घरको पछाडीको भाग तथा प्रदिप सिलवालको घरको पछाडीको भागमा आंशिक क्षति भएको छ । त्यस्तै उक्त स्थानमा संचालनमा रहेको मंगल श्रेष्ठको कुल्फी उद्योगमा समेत क्षति भएको छ ।
घटना स्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर, नेपाली सेनाको बिरदल गण सूर्यबिनायक, शसस्त्र प्रहर गण दुवाकोटका सुरक्षाकर्मी र स्थानीय नागरिक तथा काठमाण्डौ, ललितपुर, भक्तपुर, नेपाली सेना र नेपाल प्रहरी समेतको ७ वटा दमकल र स्थानीय खानेपानीका पानी ट्याङ्कर समेतको सहयोगमा नियन्त्रणमा आएको बताइएको छ ।
आगलागीबाट करिव ६ करोड मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।











प्रतिक्रिया