जिल्ला सहकारी संघमा अनियमितताः विल बनाउँदै रकम कुम्ल्याउँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।
युवा स्वरोजगार कोषबाट रकम लिई कालो सूचीमा परेका तरकारी तथा फलफल सहकारी महासघंका केन्द्रिय अध्यक्ष, जिल्ला सहकारी संघका अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष विनोद पराजुली विरुद्ध अख्तियारमा उजुरी परेको छ ।

अध्यक्ष पराजुली कालो सूचीमा रहँदा रहँदै वडा अध्यक्षको उम्मेदवार भई निर्वाचित भएका थिए । जिल्ला सहकारी संघमा अध्यक्ष समेत रहेका पराजुलीले सहकारी संघबाट स्मारिका प्रकाशन, कम्प्युटर खरिद, कार्यक्रमका नाममा नक्कली कागजात तयार गरी ३५ लाख भन्दा धेरै रकम अनियमितता गरेका छन् भने मन्त्रालयबाट प्राप्त सहकारी बजार विकास कार्यक्रमको ७६ लाख रकम ब्यक्तिगत खातामा जम्मा गरेका छन् ।

सचिव दिलिप शर्मा, सदस्य ठाकुरनाथ अधिकारी समेतको मिलमत्तोमा अध्यक्ष पराजुलीले रकम अनियमितता गरेको समाचार प्रकाशन भए लगत्तै बैठकमा कोषाध्यक्ष रामकृष्ण अधिकारीले छानविनको माग गर्दा कोषाध्यक्ष कुटाईबाट जोगिएका छन् । नेकपाका नेता समेत रहेका राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, पुर्व राज्य मन्त्री सुर्यमान दोङ्ग, नारायण पाण्डे, सहकारी मन्त्रालयका कर्मचारीहरुको समेत अनियमितता जोगाउन दबाब परेको छ । समाचार प्रकाशन पछि पत्रकार प्रदिप केसीलाई संचालक राजन शाक्यले आक्रमणको प्रयास गरेका छन् । सहकारी संघमा भएको अनियमितता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

वडा अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी

संघबाट सूचना ब्यवस्थापन तथा तथ्याङ्क विश्लेषण पुस्तिका छपाईका लागि ९० हजार ६१ रुपैया भुक्तानी गरेको छ । उक्त रकम सचिव दिलीप शर्मा जंगमले बुझि लिएका छन् । अध्यक्ष विनोद पराजुलीको निर्देशनमा भएको उक्त भुक्तानी अध्यक्ष पराजुली, सचिव शर्मा र सदस्य ठाकुरनाथ अधिकारीले बुझि लिएका छन् । जिल्ला सहकारी संघमा उक्त पुस्तक प्रकाशन भएको रेकर्ड नभएको संचालक सदस्यले बताएका छन् । १ हजार प्रति पुस्तक छाप्ने भन्दै रकम भुक्तानी भएको बिल बुझाईएको छ ।

विवररणीका सम्वन्धी ११ सय प्रति पुस्तिका प्रकाशनका लागि ८६ रुपैया ७५ पैसा मुल्यमा १ लाख ७ हजार ८ सय ३० रुपैया भुक्तानी गरिएको छ । सहकारी विभाग तथा अन्य स्थानमा पुस्तकको कभर मात्रै बुझाएर उक्त रकम सचिव शर्माले बुझि लिएका छन् । तर पुस्तक प्रकाशन भएको छैन । त्यस्तै कार्यालयमै पहिला नै खरिद गरि भुक्तानी भईसकेको कम्प्युटर देखाएर ८० हजार १ रुपैया भुक्तानी गरिएको छ । कम्प्युटर नै खरिद नगरी विल मात्रै ल्याई सचिव शर्मा र अध्यक्ष पराजुलीले उक्त रकम बुझि लिएका छन् ।

‘इलाका प्रहरी कार्यालय बनेपामा नेपाल पत्रकार महासंघ र जिल्ला सहकारी संघ बीच शुक्रबार भएको पत्रकार आक्रमणको घटनामा जिल्ला सहकारी संघले शनिबार बैठक बसेर संस्थागत माफि माग्ने, अनियमितताका बारेमा तथ्यतथ्याङ्क सहित पत्रकार सम्मेलन गर्ने सहमति भएको थियो’–महासंघ अध्यक्ष मोतीराम तिमल्सिनाले भने–‘संघले जिल्लाका केहि साप्ताहिक पत्रिकाले एक हजार रुपैयाको अपिल छाप्न इमेल पठाएर पत्रकारलाई आक्रमण भएको घटनामा संस्थागत संलग्नता भएको स्विकारेको छ ।’

अपिलमा समाचारका विषयमा भ्रामक भनिए पनि कुन कुन विषय भ्रामक भए ? तथ्याङ्क सहित अनियमितताको सूचीमा संघ मौन बस्दै पत्रकार कुटिएको विषयमा समेत बोलेको छैन । यसले पत्रकार कुट्नु ठिकै हो भन्ने सन्देश दिएको छ ।