सुम्निमा काफ्ले, काठमाडौँ ।
हिन्दु धर्मावलम्वीहरुले विशेष महत्वका साथ मनाउने शिवरात्री पर्वका अवसरमा हरेक वर्ष झैँ यसवर्ष पनि आज सोमबार पशुपतिनाथ मन्दिरमा भव्य मेला लाग्ने भएको छ ।
परापुर्वकालदेखि नै मेला लाग्ने गरेको पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जनाइएको छ । नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी मेला अवधिभर परिचालन गरिने पशुपती विकास कोषका सदस्य सचिव प्रदिप ढकालले जानकारी दिनुभयो ।
लाखौँ दर्शनार्थी र भक्तजनको भीड लाग्ने भएकाले भीड व्यवस्थापन गर्न सुरक्षा, दर्शन, आवास, भोजन तथा भौतिक पूर्वाधार, लाइटिङ्ग तथा साजसजावट, स्वास्थ्य, वातावरण, सरसफाई तथा जुत्ता चप्पल, स्वयंसेवा परिचालन तथा अनुगमन, साधुसन्त सेवा एवं धार्मिक कार्यक्रम, चन्दन मन्दिर प्राङ्गण तथा रात्रिकालिन र प्रचार प्रसारसहित आठवटा व्यवस्थापन उपसमिति बनाइएकोे छ ।
झण्डै चारहजार जोगी (बाबा) र लाखौँ भक्तजन उपस्थित हुने उक्त क्षेत्रमा नेपाल स्काउट र अन्य गरी ५ हजार जना स्वयंसेवक परिचालन गरिँदैछ । मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधी र वेडसहितको नेपाली सेना र करिब ५० वटा स्वास्थ्य संस्थाले सेवा दिने समितिले जनाएको छ । एम्बुलेन्ससमेत रहनेछ ।
दर्शन लाइनलाई पायक पर्नेगरी कैलाशमुनी, भुवनेश्वरी नजिक, बज्रघर, राममन्दिर नजिक गरी ठाउँमा जुत्ता चप्पल कक्षको व्यवस्था गरिएको छ ।
-चार हजार बाबाको आगमन
-सुरक्षाकर्मीसहित पाँच हजार स्वयम्सेवक परिचालन
-निःशुल्क भोजन, प्रसाद वितरण, मासु, मदिरा, गाँजा, भाङ निषेधित
-एम्बुलेन्ससहित चिकित्सकको टोली तैनाथ
-पशुपतिका चारैवटा ढोका खुला
-विद्युतीय झाँकी प्रदर्शन
यस अवसरमा हंशमण्डप, वनकालीको खेलास्थान र तीलगंगाको क्षेत्रलाई आवास क्षेत्र बनाई १०० भन्दा संघसंस्थाहरूले निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था गरेका छन् । कोषले साधुसन्तहरुका लागि आवश्यक निःशुल्क भोजन, पानी, चिया र बसोबासको व्यवस्था मिलाउनुका साथै एकादशीका दिन बाटो खर्चसहित साधुसन्त, जोगी–बाबालाई विदाई गर्नेछ ।
पशुपतिनाथ दर्शनमा आउने दर्शनार्थीको लागि चारैवटा ढोका खोलिने छ ।
कोषका अनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिण मुर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक लाम, गौशाला तथा एयरपोर्ट गौशला भएर पिड्डगला स्थान सुमार्गी भवनअगाडि चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुई लाम गरी बाहिरि रुपमा तीन स्थानबाट दर्शन गर्ने लाम रहनेछ ।
यस्तै तिलगङ्गा राममन्दिरतर्फबाट समेत आवश्यकता अनुसार एक लाइन हुनेछ । यसका साथै नित्यदर्शनका लागि ७ वजेभित्र भूवनेस्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ ।
यसैगरी तीलगंगा (गल्फकोर्ष उत्तरतर्फ), पशुपति क्षेत्रका विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त÷ट्राफिक प्रहरी प्रभाग, गौशाला, सिफल र गुहेश्वरी पारी गरी ५ ठाउँमा पार्किङ्गको व्यवस्था मिलाइएको छ ।
शिवरात्रीको पूर्वसन्ध्यामा आइतबार साँझदेखि नै पशुपतिनाथको पश्चिम ढोकानजिक शिव र शक्तिसंग सम्बन्धित विद्युतीय झाँकीहरु प्रदर्शन गरिएको छ ।
यसैगरी हंशमण्डप वनकालीमा भारत नाट्य कलाकार र नेपालका प्रसिद्ध कलाकारद्धारा भक्तिसंगीतसहित प्रस्तुती रहनेछ । विशेषतः भारतका साधु, सन्त र योगी शिवरात्रीमा पशुपती दर्शन गर्न आउँछन् । यस अवसरमा पशुपति क्षेत्रभित्र मासु, मदिरा, गाँजा, भाङजस्ता नशालुजन्य पदार्थ निषेधित गरिएको बताइएको छ ।











प्रतिक्रिया