शेयर बजार ४० महिनाअघिको स्थितिमा

0
Shares

काठमाडौं, (नेस) । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४० महिना अघिको बिन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से ४ दशमलव ९५ बिन्दुले घटेर १ हजार १ सय दशमलव ५८ बिन्दुमा झरेसँगै ४० महिना अगाडिको स्थितिमा पुगेको हो ।

नेप्से परिसूचक २०७२ मंसिर १७ गते बिहीबार १ हजार ७२ दशमलव ९४ बिन्दूमा पुगेर बन्द भएको थियोे । त्यसपछि मंसिर २० गते आइतबार खुलेको बजार वृद्धि १ हजार १ सय २ दशमलव ८४ को बिन्दुमा पुगेको थियो । तत्पश्चात निरन्तर वृद्धि भएको नेप्से परिसूचक हालसम्मकै उच्च १ हजार ८ सय ८१ को बिन्दुमा पुगेर ओरालो लागेको थियो ।

निरन्तर ओरालो लागेको शेयर बजारमा वर्तमान सरकार गठन भएपछि रोकिने संकेत देखाए पनि त्यसो हुन सकेन । दुई तिहाई बहुमतको सरकार गठन भएपछि अर्थतन्त्रमाा सुधार हुने र त्यसको प्रभाव लगानीकर्तामा पर्ने आशा गरिए पनि पुँजी बजारप्रति सरकारको स्पष्ट धारणा नआउने तथा सरकारी स्तरबाट लगानीकर्तालाई हतोत्साही हुने खालका अभिव्यक्ति आएका कारण लगानीकर्ता ढुक्क हुन सक्दा पुँजी बजार आरालो लागेको सरोकारवालाहरुको भनाइ छ ।

विशेषगरी अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजारमैत्री नभएको आरोप लाग्दै आएको छ । डा. खतिवडा २०७४ फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त भएपछिको यसमयमा पुँजी बजारमा करिब २५० अंकको गिरावट आएको छ । साथसाथै लगानीकर्ताले सवा दुई खर्ब रुपियाँ गुमाएका छन् ।

अर्थमन्त्रीले पुँजी बजारलाई ‘अनुत्पादक’ क्षेत्रको भनेर अभिव्यक्ति दिएपछि त्यसको असर समग्र अर्थतन्त्रको सूचक मानिने शेयर बजारमा नकारात्मक असर प¥यो । ‘शुरूमा अर्थमन्त्रीले पुँजी बजारलाई कडाइ गर्न खोजेपछि चौतर्फी दबाब परेपछि पुँजी बजारलाई सम्बोधन गर्ने प्रयास गर्नुभयो ।

तर, ती प्रयास निरर्थक हुँदै आएका छन्’ –एक शेयर विश्लेषकले नेपाल समाचारपत्रलाई बताए । कर्मचारीतन्त्रमा रमाएका व्यक्ति एकाएक राजनीतिक उचाईमा पुगेको बेला अर्थमन्त्रीको त्यो बोली पुँजी बजारका निम्ति महँगो पर्न गएको लगानीकर्ताको भनाइ छ ।