राजकीय सम्मानका साथ अधिकारीको गृहजिल्लामा अन्त्येष्टि

0
Shares

विजय नेपाली, पोखरा
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गृह जिल्ला कास्कीमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा जेठा छोरा विराजले शुक्रबार दागबत्ती दिएका छन् ।

त्यसै गरी स्व. अधिकारीको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय झन्डा तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतम र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको झन्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । १२ बजे पोखरा ल्याइएको स्व. अधिकारीलाई श्रद्धाञ्जली दिन कास्कीका नेता, कर्मचारी, विभिन्न दलका नेता कार्यकर्ता तथा लाखौंैं सर्वसाधारण नागरिक सहभागी भएका थिए ।

स्व. अधिकारीको पार्थिव शरीर करिब तीन घण्टा पोखरा प्रदर्शनी केन्द्रमा राखिएको थियो । त्यसपछि पोखरा परिक्रमा गराई प्रदर्शनी केन्द्रबाट नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी दाहसंस्कार गरिएको छ ।

असल चरित्रवान् कुशलता भएका अधिकारी कास्कीकै लोकप्रिय नेता हुनुहुन्थ्यो । अधिकारीको निधनले यति बेला सिङ्गो कास्की नै शोकमा डुबेको छ । सबैलाई समान रुपमा हेर्ने र आदार गर्ने हँसिलो स्वभावका अधिकारीलाई गुमाउनु कास्कीका लागि दुर्भाग्यपूर्ण बन्न पुगेको छ ।

मुख्यमन्त्रीसहित गण्डकी प्रदेशका सातै मन्त्रीहरु मन्त्री स्व. अधिकारीको घरमा पुगेर समवेदनासमेत प्रकट गरेका छन् । मन्त्री अधिकारीको परिवारलाई समवेदना दिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित मन्त्रिपरिषद्का सबै सदस्य मालेपाटनस्थित घरमा पुगेका हुन् । परिवारलाई भेटेर निस्केपछि मुख्यमन्त्री गुरुङले देशका लागि ठूलो नोक्सान भएको भन्दै शोकलाई शक्तिमा बदलेर बाँकी सपना पूरा गर्नेतर्फ एकजुट हुनुपर्ने बताउनुभयो ।

अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, कानुनमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलगायत सरकारी प्रतिनिधिका साथै नेकपाका महासचिव विष्णु पौडेललगायत सहभागी भएका थिए ।

५ जनाको पशुपतिमा दासंस्कार, शेर्पाको भोलि गरिने

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनीहरु सबैको शुक्रबार दिउँसो दाहसंस्कार गरिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणकै निर्देशक धुव्र भोछिभोया, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो आर्यघाटमा दाहसंस्कार गरिएको हो।
श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुक, विभिन्न दलका नेता, उच्च पदस्थ सरकारी अधिकारी सहभागीलगायत हजारौं सर्वसाधारण पशुपति आर्यघाट पुगेका थिए ।


मन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार पोखराको रामघाटमा गरिएको थियो । यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको भने भोलि आइतबार बौद्ध विधिअनुसार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । यसअघि मृतकहरुको शवलाई टुँडिखेलमा राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, पूर्वप्रधान्मन्त्रीहरु, नेपाल सरकारका मुख्य सचिव, सरकारको विशिष्ट श्रेणीका पदाधिकारी, निजामती कर्मचारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, नेपाली सेनाका अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

दुर्घटनामा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र हेलिकोप्टरका पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडास्थित विमानस्थलको स्थलगत निरीक्षण तथा सम्भाव्यता अध्ययन गर्न गएको मन्त्री अधिकारीसहितको टोली पूर्वको तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरी फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

शोक प्रस्ताव पारित
संघीय संसद्को शुक्रबारको दुवै सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।

प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउनुभएको शोकप्रस्ताव पारित गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहनुभएका अधिकारीले कास्कीबाट २०६४ साल र २०७० सालमा भएको संविधानसभाको र २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचन जित्नुभएको थियो । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।