२० किसानलाई भारतमा तालिम

0
Shares

काठमाडौं, (नेस) ।
नेपालका २० जना कृषक तथा कृषि विशेषज्ञहरुलाई भारतमा १ महिने तालिम सञ्चालन भइरहेको छ ।

भारतको गाजियाबादमा रहेको नेशनल सेन्टर अफ अर्गानिक फार्मिङमा प्रदान गरिदैँ आएको तालिम फागुन १८ गतेसम्म सञ्चालन हुने भारतीय राजदूतावासले जनाएको छ ।

यसअघि पनि यही स्थानमा २० जना कृषक तथा कृषि विशेषज्ञहरुलाई कार्तिक २९ देखि मंसिर २८ गतेसम्म तालिम प्रदान गरिएको थियो ।

दूतावासले प्रकाशित गरेको विज्ञप्ती अनुसार माटोको स्वास्थ्यमा सुधार गरी प्रमाणित प्राङ्गारिक खेति प्रवद्र्धन गर्ने, उत्पादनमा गुणस्तरियता कायम गर्ने, माटोको स्वास्थ्य तथा वातावरणमा प्राङ्गारिक प्रभाव वृद्धि गर्ने, जैविक मल तथा जैविक किटनाशक उत्पादन इकाइको स्थापना गरी प्राङ्गारिक विउको आपूर्तिलाई सुनिश्चित गर्ने, नेपाली विशेषज्ञ तथा किसानको मानव स्रोत बिकास गरी माटो परीक्षण तथा प्राङ्गारिक प्रमाणीकरण क्षमता बिस्तार गर्ने तालिमको मुख्य उद्येश्य रहेको छ ।

गत वर्षको चैत्रमा नेपालका प्रधानमन्त्री भारत गएका बेला भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीद्धयले ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ कार्यक्रमको शुभारम्भ गरेका थिए ।

गत असारमा भारत जानुभएका कृषि तथा पशुपंक्षी बिकासमन्त्री चक्रपाणी खनालले भारतका कृषि तथा किसान कल्याणमन्त्री राधामोहन सिंहसँग भेटी यस विषयमा थप छलफल गर्नुभएको थियो ।