हलेसी साईनो स्टारको फाईनलमा ११ जना गायन प्रतिभा

0
Shares

रामधन राई, खोटाङ
खोटाङमा जारी गायन प्रतियोगिता हलेसी साईनो स्टार–२०७५ को फाईनलका लागि ११ जना प्रतिभा छानिएका छन् । आईतवार दिक्तेलमा सम्पन्न छैठौं राउण्डको प्रतियोगिता अन्तर्गत १६ जना प्रतिष्पर्धीहरुले प्रस्तुति दिएकोमा उत्कृष्ट ११ जना गायन प्रतिभा फाईनलका लागि छनौट भएका हुन् ।

फाइनल राउण्डका लागि पुस्कल राई, संग्राम राई, विना राई, पर्शु गजमेर, युवराज राई, रोजिना राई, स्काइ भरत मगर, प्रदिप राई, प्रणिसा विक, क्यूमिला राई र सोम मगर छानिएको आयोजक साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । उक्त राउण्डको निर्णायक मण्डलमा गायक रुपकुमार राई र गायिका कला राई रहेका थिए ।

प्रतियोगिताको फाइनल राउण्ड आगामी फागुन २५ गते शनिवार दिक्तेलमा सञ्चालन हुनेछ । छैटौं राउण्डमा भोटिङको ४० र निर्णायकको ६० अंककोे आधारमा नतिजा घोषणा गरिएको थियो । फाइनलमा पनि सोही नियम लागु हुनेछ । जिल्लाका १० वटै स्थानीय तहका ११ स्थानमा सञ्चालन गरिएको पालिका स्तरिय अडिसनबाट छानिएका १ सय १८ प्रतियोगीमध्ये ११ जना बाँकी रहेका हुन् । फाईन चरणमा गायक राजेशपायल राई, संगीतकार शान्तिराम राई लगायतका सांगीतिक हस्तीहरुको उपस्थिती रहने आयोजकले जनाएका छन् ।

गायन प्रतियोगीता हलेसी साईनो स्टारमा प्रथम हुने स्वरका प्रतिभाले नगद ५५ हजार ५ सय ५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरका साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यस्तै, दोश्रो हुने प्रतिभालाई नगद ३० हजारका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी तथा तेश्रो हुने प्रतिभालाई नगद १५ हजार ५ सय ५५ रुपैयाँका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरका साथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने जनाईएको छ ।