गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर कांग्रेसलाई फाइदा नहुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन गोरखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई/अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिनुभयोे । ‘कांग्रेसको अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन’, उहाँले भन्नुभयो, ‘सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर सङ्गठन बनाउन लाग्नुपर्छ ।’
नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको बताउनुभयो ।
‘अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु’, उहाँले भन्नुभयो, ‘तर आगामी महाधिवेशनलाई जसरी पनि पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्छ ।’ अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले उहाँहरुबाट अबको पुस्ताको चाहना पूरा हुनै नसक्ने जिकिर गर्नुभयो ।











प्रतिक्रिया