पाँचथर, (नेस)
पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको निधन भएको छ । फाल्गुनन्द गाउँपालिकाको कार्यक्रमलाई सम्बोधन गर्दा बेहोस भएपछि उपचारका लागि इलाम अस्पताल लैजाँदै गर्दा उहाँको निधन भएको हो ।
घुर्बिसे पञ्चमीमा आयोजित ५ नं. वडा कार्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा नेम्वाङ बेहोस हुनुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिनुभयो । ‘उहाँ लामो समयदेखि उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो, कार्यक्रममा बोल्दाबोल्दै बेहोस हुनुभयो’ –खत्रीले भन्नुभयो ।
पाँचथरको पौवासारताका नेम्वाङ पञ्चायतकालमा चार कार्यकाल प्रधानपञ्च, २०४६ पछि दुई कार्यकाल पौवा सारतापको अध्यक्ष रहनुभएको थियो । साथै पञ्चायतमा एक कार्यकाल जिल्ला पञ्चायतको उपसभापति हुनुहुन्थ्यो ।
साहित्यमा समेत कलम चलाउँदै आउनुभएका उहाँको ‘सम्झनाका तरेलीहरु’ निबन्ध संग्रह, ‘अमेरिका भ्रमणका केही सम्झना’ नियात्रा, ‘एउटा साँझको अवसान’ कविता संग्रह प्रकाशित छन् । नेम्वाङलाई सरकारले यही वर्ष नेपाल विद्याभूषण चौथोद्वारा विभूषित गरेको थियो ।











प्रतिक्रिया