नेपाल समाचारपत्र, काठमाडौं
गत सातादेखि भित्रिएको युरोपेली वायुको प्रभावले शुरु भएको हिउँदे झरी शनिबार रातिदेखि कमजोर भएको छ । पश्चिमी वायुको प्रभाव निस्क्रिय भएसँगै मौसम सुधार हुने भएको छ ।
आज आइतबार मुलुकका पश्चिमी भू–भागलगायत मध्य र पूर्वी पहाडी भेगमा आंशिक बदली भए पनि अन्यत्रको मौसम सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना भने यथावत् रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
‘शनिबारको जस्तो देशैभर निरन्तर वर्षा र हिमपात हुने सम्भावना भने छैन, अब क्रमशः मौसम सुधार हुने संकेत देखिएको छ’ –उहाँले भन्नुभयो । गत मंगलबार रातिदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले बुधबारदेखि सुदूरपश्चिम र मध्यपश्चिमका धेरै भू–भागको मौसम प्रभावित बनाएकोमा शुक्रबारदेखि त्यस्तो प्रभाव देशैभरि फैलिएको थियो । सोही प्रभावले शनिबार अधिकांश उच्च पहाडी र हिमाली भेगमा बाक्लै हिमपात भएको छ । काठमाडौं उपत्यकाका चन्द्रागिरी, चम्पादेवी, फूलचोकी, नगरकोट, शिवपुरीलगायतका भू–भागमा पनि हिमपात भएको थियो ।
शनिबार साँझसम्ममा भैरहवामा सबैभन्दा बढी ५५ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ । त्यसै गरी सिमरामा ४३ दशमलव ८, पोखरामा ३५ दशमलव २, काठमाडौंमा २८ दशमलव २, दाङमा १४ दशमलव ६, वीरेन्द्रनगरमा १३ दशमलव १ र ताप्लेजुङमा १२ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।
नेपालगन्ज, जुम्ला, ओखलढुंगा, धनकुटा, विराटनगर, धरान, जोमसोम, लुम्ले, जनकपुर, जिरीलगायतका स्थानमा पनि मध्यमदेखि हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।











प्रतिक्रिया