मुस्ताङको हिमपातः यातायात, विद्युत र हवाई उडान अवरुद्ध(फोटो फिचर)

0
Shares

प्रताप बानियाँ, म्याग्दी । 
हिमालपारीको जिल्ला मुस्ताङमा यसवर्ष चौथोपटक भारी हिमपात भएको छ । देशैभर बिहीबारदेखि परेको वर्षासँगै मुस्ताङमा भने शुक्रबारदेखि हिमपात पर्न थालेको हो । मुस्ताङको सदरमुकाम जोमसोम बजारमा मात्रै डेढदेखि २ फिटसम्म हिउँ जमेको मुस्ताङका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले टेलिफोनमार्फत जानकारी दिनुभयो ।

उपल्लो मुस्ताङको लोमान्थाङमा ३ फिटभन्दा बढी हिउँ जमेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । मुस्ताङ जिल्लाको तल्लो सिमाना घाँसादेखि सबै क्षेत्रमा भारी हिमपात भएको प्रनाउ खड्काको भनाइ छ । हिमपातका कारण अहिले मुस्ताङमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको छ भने ४ दिनदेखि हवाई उडान ठप्प भएको उहाँले बताउनुभएको छ । जोमसोम विमानस्थलको धावनमार्गमा बाक्लो हिउँ जमेको छ ।

हिमपातले सडक, भिरपाखा, डाँडाकाँडा, घरवस्ती सबै क्षेत्र सेताम्मे देखिएका छन् । हिमपातले गर्दा म्याग्दीबाट मुस्ताङ र मुस्ताङबाट म्याग्दीतर्फ यातायात सेवा सञ्चालन हुन सकेको छैन । घरको छतमा समेत बाक्लो हिउँ जमेका कारण थप हिमपात भएको खण्डमा कच्ची घर तथा माटोले बनेका घरहरु भत्कन सक्ने सम्भावना रहेको बताइएको छ।

अहिले जोमसोमको तापक्रम माइनस २ डिग्रीमा पुगेको छ । हिमपातका कारण जोमसोमबाहेक कागबेनी, मुक्तिनाथ, लोमान्थाङसहित अन्य ठाउँमा सञ्चार सम्पर्कबिच्छेद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिमपातपछि अत्यधिक मात्रामा चिसो बढेको हुँदा स्थानीयवासिन्दा घरभित्रै आगो तापेर बस्न बाध्य भएका छन् ।

अहिले पनि मुस्ताङको डाँडाकाँडाहरुमा हिमपात भैरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले टेलिफोनमा बताउनुभयो । यसैगरी मार्फामा गाडीले विद्युतको पोलमा ठक्कर दिएपछि केन्द्रीय प्रसारण लाइनको विद्यूत सेवा अवरुद्ध बनेको उहाँले बताउनुभयो । हिमपातका कारण अवरुद्ध विद्युत मर्मत र सुचारु गर्न समस्या भैरहेको जनाइएको छ ।

यसअघि परेको हिउँ पग्लिन बाँकी नै रहेको अवस्थामा पुनः भारी हिमपात भएपछि स्थानीयको दैनिकी अत्यन्त कष्कटर बनेको छ भने जनजीवन नराम्रोसँग प्रभावित भएको छ । पटकपटक परेको वर्षा र हिमपातले पर्यटक र सर्वसाधारण सास्ती खेपिरहेका छन् ।